ओखलढुङ्गाको रानीवनमा गुडीरहेको बसको तलबाट पहिरो खस्यो
ओखलढुङ्गन्युज, २९ साउन । ओखलढुङ्गाको रानीवनमा गुडीरहेको बसको तलबाट पहिरो खसेको छ । गुडिरहेको बसको तलबाट पहिरो खस्दा गाडीको पछाडी पटीको चक्का पहिरोमा परेपनि गम्भीर दुर्घटना हुनबाट भने जोगिएको छ ।
ओखलढुङ्गाको चम्पादेवी गाँउपालिका वडा नं. १० रानीवनबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१-००६ ख ४८४९ नम्बरको यात्रुबाहक बस पहिरोमा परेको हो । बुधबार विहान रानिवनबाट छुटेको उक्त बस लिखु गाउँपालिका र चम्पादेवी गाँउपालिकाको सिमानामा पर्ने निगमले भन्ने स्थानमा पहिरोमा परेको हो ।
बस पहिरोमा परेपछि तत्काल स्थानीय तथा घोराखोरीबाट शशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले डोरीको सहायताले बसलाई अड्याएका थिए । पहिरोका कारण घोराखोरिबाट काठमाडौँ तर्फ जाने र घोराखोरि तर्फ आउने सवारी साधन रोकिएका छन् । अहिले पहिरोबाट बस निकाल्न र अबरुद्ध बनेको बाटो खुलाउन लिखु गाउँपालिकाको डोजर घटनास्थलमा पुगेको त्यहाँबाट लिखु गाँउपालिकाका प्रहरी भुवन बस्नेतले जानकारी दिए ।