नेपाली समय Loading...२०८१ कार्तिक ६ मंगलवार

बङ्गलादेशकी प्रधानमन्त्री हसिना राजीनामा पछि भागिन भारत

ओखलढुङ्गान्युज, २१ साउन । देशमा विद्यार्थी आन्दोलन निरन्तर चर्किएपछि बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर विदेश भागेकी छन् । प्रधानमन्त्री हसिनाले शोमबार दिउँसो राजीनामाको घोषणा गरेर हेलिकप्टरबाट भारत तर्फ भागेकी हुन् ।

प्रधानमन्त्री भागेपछि बंगलादेशको सेनाले नयाँ अन्तरिम सरकार बन्ने बताएको छ । बंगलादेशका सेना प्रमुख जनरल वकेर उज जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन् । प्रधानमन्त्री भागेसँगै प्रधानसेनापति उज्जामनले देशवासीका नाममा सम्बोधन गर्दै अन्तरिम सरकार गठन हुने घोषणा गरेका हुन । प्रधानसेनापति उज्जामनले राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग छलफल गरेर आजै समाधान गर्ने बताएपनि सरकारको नेतृत्व कसले गर्ने भन्ने स्पष्ट भएको छैन ।

राजीनामा दिएलगत्तै हेलिकप्टर चढेर भागेकी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्य पुगेको समाचार संस्था एएफपीले जनाएको छ । आन्दोलनकारीले प्रधानमन्त्रीकै निवासमा प्रवेश गरेर प्रदर्शन गरेपछि बहिनीलाईसँगै लिएर प्रधानमन्त्री हसिनो देश छाडेकी हुन् ।

शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर भागेपछि त्यहाँ प्रदर्शनकारीहरूले विजयी उत्सव मनाइरहेका छन् । सरकारी जागिरको ठूलो सङ्ख्यामा कोटा प्रणाली लगाउने सरकारी विधेयकको विरुद्धमा विद्यार्थीहरूले शुरू गरेको आन्दोलनले हसिनालाई देशबाटै भाग्नुपर्ने अवस्था ल्याएको हो ।

यसअघि अघिल्लो हप्ता प्रदर्शन हिंसात्मक बनेर दुई सय जनाभन्दा धेरैको ज्यान गएपछि बङ्गलादेशको सर्वोच्च अदालतले कोटा प्रणाली खारेज गरिदिएको छ । यसबाट विद्यार्थीहरूको माग पूरा भए पनि ज्यान गुमाउने, घाइते र पक्राउ परेकाहरूको न्यायका लागि भन्दै प्रदर्शन चलिरहेको थियो । सामान्य अवस्थामा रहेको प्रदर्शन हिजो पुन हिंसात्मक बन्दा ९६ जनाको ज्यान गएपछि आज (शोमबार) विद्यार्थीसँगै मजदुरलगायतले पनि प्रदर्शन गरेका हुन् ।