नेपाली समय Loading...२०८१ आश्विन ५ शनिबार

आजबाट ओखलढुङ्गामा गठेमंगल पर्व मनाउदै लाखे जात्रा सुरु

ओखलढुङ्गान्युज, १८ साउन आज ओखलढुङ्गा जिल्ला सदरमुकाममा घण्टाकर्ण गठेमंगल पर्व मनाईएको छ ।  नेवार समुदायले मनाउदै आएको घण्टाकर्ण गठेमंगल पर्व ओखलढुङ्गाका नेवार समुदायले पनि आज मनाएका हुन ।

पौराणिक कथनअनुसार दुवै कानमा घण्ट झुण्ड्याई आहाराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई मार्न एक जना तान्त्रिकले भ्यागुताको रूप लिएर धाप भएतिर बाटो देखाइदिँदा राक्षस धापमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरुप घण्टाकर्णको प्रतीकका रुपमा नर्कटको प्रतिमा बनाइन्छ । यस्तै मान्छेलाई पनि घण्टाकर्णको प्रतीकका रुपमा विभिन्न रङ्गले रङ्गाएर पनि राख्ने चलन छ ।

गठेमंगललाई नेवारी भाषामा घंटाकर्ण पनि भनिन्छ । गठेमंगल श्रावण महिनाको कृष्ण पक्षमा मनाइन्छ । यो पर्वलाई दुष्ट आत्माहरु र नकारात्मक शक्तिहरूको अन्त्यको प्रतीक मानिन्छ । गठेमंगलको मुख्य उद्देश्य नराम्रो आत्मा, रोग, र विपत्तिहरूलाई गाउँबाट भगाउनु हो । यस दिन, एक पुतला बनाई त्यसलाई दुष्ट आत्माको प्रतीकको रूपमा मानिन्छ, र गाउँको बाटो, चोक, वा अन्य सार्वजनिक स्थानमा राखिन्छ । बेलुकीपख, उक्त पुत्लालाई गाउँ परिक्रमा गराएर जलाइन्छ । यसरी यो पर्वले समुदायको शुद्धीकरण, सुरक्षा, र समृद्धिको कामना गर्दछ ।

त्यसैगरी, यो पर्वको समयमा नेवार समुदायमा विभिन्न सांस्कृतिक नृत्य, गीत, र भोजको आयोजना गरिन्छ, जसले सामाजिक एकता र परम्परालाई बलियो बनाउँछ । गठेमंगल नेवार जातीको पर्व हो । यो पर्व मनाईएसँगै अबको एकमहिना सम्म लाखे जात्रा सुरु भएको छ ।