मानेभञ्ज्याङका उपाध्यक्ष आश्रचन राईलाई कार्बाही गर्न चारदलको माग
ओखलढुङ्गान्युज, १३ साउन । मानेभञ्ज्याङ गाउँपालिकाका चार दलले मानेभञ्ज्याङ गाउँपालिकाका उपाध्यक्ष आश्रचन राईमाथि अनुसन्धान गरि कार्बाही गर्न माग गरेको छ । चार दलको तर्फबाट संयुक्त प्रेस विज्ञप्ती जारि गर्दै उपाध्यक्ष राईलाई कार्बाही गर्न माग गरेका हुन् ।
उपाध्यक्ष राईले मादक पद्धार्थ खाएर गत असार २४ गते राती मानेभञ्ज्याङ गाँउपालिका वडा नं. ६ हिलेपानीमा रहेको श्री महादेवस्थान माविमा एक स्थानीय महिलालाई बोलाई ललाई फकाई पैसा र जागिरको लोभमा अनैतिक क्रियाकलाप गरेको विज्ञप्तीमा आरोप छ । मादक पद्धार्थ खाएर लट्ठिएका उपाध्यक्ष राईको उक्त कर्तुत बाहिर आउने भएपछि ती महिलालाई पद र पैसाको प्रलोभनमा पारेर घटना ढाकछोप गर्न खोजेको विज्ञप्तीमा आरोप छ ।
विद्यालयमा उक्त घटना घटेको र पिडित महिलालाई जागिर र पैसाको प्रलोभनमा पारेर घटना ढाकछोप गर्न खोजेको भन्दै उक्त विद्यालय व्यबस्थापन समितिका चारजना सदस्यहरुले साउन ६ गते राजिनामा दिएका थिए । विद्यालय जस्तो पवित्र स्थानमा पैसा र पदको भरमा अनैतिक क्रियाकलाप गरेर आफूहरुलाई समेत नैतिक प्रश्न सृजना भएकोले विद्यालय व्यबस्थापन समितिको तर्फवाट आफूहरुले राजिनामा दिएको विद्यालय ब्यबस्थापन समितिका सदस्य बीर बहादुर राईले बताए ।
घटनाको बारेमा अनुसन्धान गरि सत्यतथ्य सार्वजनिक गर्न र दोषि उपर हदैसम्मको कार्बाही गर्न विज्ञप्ती मार्फत माग गरिएको छ । घटनाको बारेमा सम्बन्धित पक्षबाट उचित छानविन र कार्बाहीको प्रक्रिया नथालिए आफूहरुले अन्य आन्दोलनको कार्यक्रम गर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।
“विद्यालय जस्तो सार्वजनिक स्थानमा गाउँपालिकाको जिम्मेवार व्यक्तिबाट भएको यस्तो घटनाको जतिसुकै निन्दा र भत्र्सना गरेपनि कम हुन्छ । यसरी सार्वजनिक पद धारणा गरेको ब्यक्तिबाटै सर्वसाधारण अबोध महिला माथि हुने यस्तो गम्भिर र अनैतिक अमानवीय कृयाकलापले समाजमा नकारात्मक प्रभाव परिरहेको हुँदा यस्ता प्रवृत्तीका विरुद्ध एकजुट भै प्रतिकारमा जुट्न समेत सबै न्यायप्रेमी आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दछौ ।” विज्ञप्तीमा भनिएको छ ।
संयुक्त विज्ञप्तीमा मानेभञ्ज्याङ गाँउपालिकाका चार दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपाको तर्फवाट पालिका अध्यक्ष र प्रतिनिधीहरुले हस्ताक्षर गरेका छन् ।