नेपाली समय Loading...२०८१ भाद्र २३ आईतवार

आज गुरुपूर्णिमा, व्यास जयन्ती पनि

ओखलढुङ्गान्युज, साउन आज असार शुक्ल पूर्णिमा । आजको दिनलाई गुरुपूर्णिमा पनि भनिन्छ । गुरु पूर्णिमाका अवसरमा आजको दिन विभिन्न समयमा विभिन्न तवरले शिक्षा दिक्षा र ज्ञान प्रदान गर्ने गुरुहरुको सम्झना तथा सम्मान गरेर मनाईदैछ ।

आजको गुरुपूर्णिमाको अबसरमा देशभरका विभिन्न विद्यालय एवम् सङ्घसंस्थाहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् । आजको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।

ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ । यस्ता गुरुलाई शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ ।

आज व्यास जयन्ती

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । असार शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले आजको दिन व्यास जयन्ती मनाउने गरिएको हो ।