नेपाली समय Loading...२०८१ कार्तिक २ शुक्रबार

महिला एशिया कप क्रिकेटमा नेपालको ऐतिहासिक जित, बन्यो चार किर्तिमान

ओखलढुङ्गान्युज, ४ साउन । श्रीलंकामा जारि एसीसी वुमन्स एशिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली महिला टोलीले जित दर्ता गरेको छ । श्रीलंकाको डाम्बुलामा आज भएको खेलमा महिला टिमले ४ किर्तिमानी सहित यूएई माथि ६ विकेटको सान्दार जित हासिल गरेको हो ।

आज श्रीलंकाको डाम्बुलामा भएको खेलमा नेपालले टस जित्दै बलिङ गरेको थियो भने यूएईलाई ब्याटिङ गर्न निम्तो दिएको थियो । पहिले व्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाउदै ११५ रन बनाएको थियो । यूएईका लागि व्याटर खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाएकी थिईन् ।

११६ रनको लक्ष्य पछ्याएको नेपालले १६ दशमलब १ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपाललाई जिताउनका लागि ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौकासहित ७२ रनको अविजित इनिङ खेलिन् ।

नेपालको जितमा चार किर्तिमान

१. एसिया कपमा पहिलो जितः एसिया कपमा नेपालको यो पहिलो जित हो । यसअघि नेपालले दुई संस्करणमा कूल ८ खेल खेल्दा जितविहीन थियो । सन् २०१२ मा नेपाल श्रीलंका, बंगलादेश र चीनसँग पराजित भएको थियो भने सन् २०१६ मा बंगलादेश, थाईल्याण्ड र भारतसँग पराजित भएको थियो ।

२. खेलमा लक्ष्य पछ्याउँदा नेपालको पहिलो अर्धशतकः नेपालबाट महिला टी २० आईमा पहिलोपटक अर्धशतक प्रहार भएको  । आजको खेलमा नेपाली खेलाडी सम्झना खड्काले ४५ बलमा ७२ रन प्रहार गरिन् । लक्ष्य पछ्याउँदा नेपालबाट महिला टी २० आईमा अर्धशतक प्रहार गर्ने सम्झना पहिलो खेलाडी बनेकी छन् । यसअघि रुविना क्षेत्री बेलबासे, इन्दु बर्मा, सीता रानामगर र पूर्जा महतोले महिला टी–२० आईमा पहिलो इनिङमा अर्धशतक हानेका थिए ।

३. लक्ष्य पछ्याउँदा नेपालको ठूलो लक्ष्य पूराः ११६ रन नेपाली महिला टोलीले टी २० आईमा पूरा गरेको हालसम्मको ठूलो लक्ष्य हो । यसअघि नेपालले महिला टी २० आईमा सर्वाधिक ठूलो लक्ष्य सन् २०२३ जुन ४ मा मलेसियाले दिएको ११० रन पूरा गरेको थियो ।

४.एकै खेलमा सर्वाधिक चौकाः सम्झना खड्का महिला टी–२० आईमा नेपालबाट एकै इनिङमा सर्वाधिक चौका प्रहार गर्ने देलाडी बनिन् । उनले यूएई विरुद्धको आजको खेलमा ११ चौका प्रहार गरिन् । सम्झनाले गत फेब्रुअरीमा रुविना क्षेत्रीले माल्दिभ्सविरुद्ध शतक हान्दा प्रहार गरेको १० चौकालाई पछि पारेकी हुन् ।