नेपाली समय Loading...२०८२ बैशाख ६ शनिबार

ओखलढुङ्गामा आमाले गरिन आफ्नै दुई महिने शिशुको हत्या

ओखलढुङ्गान्युज, ४ साउन । ओखलढुङ्गामा एक महिलाले आफ्नै दुई महिने शिशुको हत्या गरेर जंगलमा फालेको आरोपमा पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ४ चार्खु बस्ने २६ बर्षिया दिप कुमारी राई रहेकी छिन् ।

गत असार ३१ गते दिउँसो १ बजेतिर जिल्लाको चिशंखुगढी गाउँपालिका वडा नं. ८ को बाघखोर स्थित जंगलमा मृत शिशुको शब रहेको भन्दै स्थानीयले देखेर प्रहरीलाई खबर गरिदिएका थिए । प्रहरीलाई जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक कानूनी प्रकृया पुरा गरेर शबलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको थियो । बच्चाको शबको पोष्टमार्टममा समस्या भएपछि शबलाई पोष्टमार्टमका लागि त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौं पठाएको थियो । शबलाई काठमाण्डौं पठाएर मृतक शिशुको बाबुआमा खोजीको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको टोली खटिएको थियो । 

अनुसन्धानका क्रममा उक्त शिशु सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटार चार्खुका युवराज राई र दिप कुमारी राईको रहेको भन्ने पत्ता लागको थियो । त्यसपछि अनुसन्धानका लागि सोहि दिन शिशुका आमा दिप कुमारीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

अनुसन्धानका क्रममा बच्चालाई आफैले हत्या गरेर जंगलमा फालेको राईले स्विकार गरेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । प्रहरीको अनुसन्धानको क्रममा बच्चा जन्मेदेखि नै धेरै रोईबस्ने भएकोले दिक्क लागेर बच्चालाई किटनाषक औषधी खुवाई हत्या गरेको शिशुकी आमा राईले बयान दिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भैरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।