ओखलढुङ्गा सदरमुकाममा पहिरोले घर बगाउँदा आमाछोरी घाइते
ओखलढुङ्गान्युज, २२ असार । शुक्रबार बेलुका देखि परेको निरन्तर बर्षात पछि शनिवार अपरान्ह ओखलढुङ्गा जिल्ला सदरमुकाममा पहिरोले एउटा टहरो बगाएको छ । पहिरोले टहरो बगाउदा त्यहाँ होटल सञ्चालन गरि बसेका आमा छोरी गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा भोजपुर घर भई सिद्धिचरण नगरपालिका वडा नं. १२ जिसस लाइन बस्ने ३० बर्षिया इन्दिरा खत्री र उनकी १३ बर्षिया छोरी लक्ष्मी विष्ट रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मनिष लुइटेलले जानकारी दिए । प्रहरी निरीक्षक लुइँटेलका अनुसार पहिरोमा परि घाइते भएका आमा-छोरीलाइ प्रहरी र स्थानीयको सहयोगमा तत्काल उद्दार गरि उपचारका लागी सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गामा पुर्याइएको थियो । घाइते दुवैको अबस्था गम्भिर रहेको र उनीहरुको सामुदायिक अस्पतालमा नै उपचार भैरहेको प्रहरीले जनाएको छ ।
शुक्रबार देखी परेको अविरल वर्षा पछि शनिवार दिउँसो कीब ४ बजेतिर पहिरो झरेर सिद्धिचरण नगरपालिका वडा नं. १२ जिसस टोलमा रहेको एन्जल/ईशा होटल रहेको टहरो बगाएको थियो । पहिरोका कारण ओखलढुङ्गा – रामपुर सडक खण्डको भित्री सडक अबरुद्ध समेत बनाएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।