मोलुङको पात्लेमा भएको घर आगलागीमा परि एक घाइते
ओखलढुङ्गान्युज, २० असार । जिल्लाको मोलुङ गाउँपालिका वडा नं ७ पात्लेमा एक घरमा आगलागी भएको छ । आगलागीका कारण एक घर जलेर नष्ट भएको छ भने एकजना घाइते भएका छन् ।
आगलागीका कारण पात्लेका डानु भोटेको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । सूचना अधिकारी प्रहरी निरीक्षक कार्कीका अनुसार घर आगलागीमा परि घरमुली डानु भोटे घाइते भएका छन् । घरमा लागेको आगो निभाउने क्रममा भोटेको खुट्टामा आगोले पोलेर घाइते भएको प्रहरीले जनाएको छ ।
विहिवार विहान खाना खाएर आगो ननिभाई मेलापातमा गएको बेला अचानक दिउसो १ बजेतिर आगो सल्कन गई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट भोटेको काठले बारेको चित्राको छानो भएको १ तले घर र त्यहाँ रहेका सम्पूर्ण सामानहरु, घरमा रहेको सोलार १ थान,१२ भोल्टको ब्याटी थान १, लाभा कम्पनिको सादा मोबायल थान १ लगायतका सामग्री नष्ट हुँदा अन्दाजी १ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीलाइ स्थानीयको सहयोगमा करीब २ घण्टा पछि पूर्ण रूपमा नियन्त्रणमा लिएको पनि प्रहरीले जनाएको छ । आगलागीमा परि घाइते भएका भोटेको स्थानीय स्वास्थ्य संस्थामा उपचार पछि घर फर्किएको तथा उनको अबस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।