नेपाली समय Loading...२०८१ भाद्र २३ आईतवार

मोलुङको पात्लेको विभिन्न स्थानमा पहिरो, दर्जनौं परिवार विस्थापित

ओखलढुङ्गान्युज, १७ असार जिल्लाको मोलुङ गाउँपालिकाको पात्लेमा गएराति विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोमा परि चारओटा पशु चौपाया मरेका छन् भने दर्जनौ परिवार विस्थापित भएका छन् ।

मोलुङ गाँउपालिका वडा नं. ७ पात्लेको गौरीडाँडा पहरी बस्तीमा भिषण पानीसँगै पहिरो गएको हो । पहिरोमा परी दुइवटा गोरु र दुईवटा भैसी बगाएको छ । पहिरोले बगाएर स्थानीय तेज बहादुर सुनुवारको हल गोरु र अम्बर बहादुर पहरीको दुईवटा माउ भैसी मरेको पात्लेका वडा अध्यक्ष हेम बहादुर सुनुवारले जानकारी दिए ।

सुनुवारका अनुसार त्यहाँ दर्जनौ स्थानीयको परिवार विस्थापित बनेका हुन् । पहिरोका कारण टेक बहादुर पहरी, पेशल बहादुर पहरी, अम्बर बहादुर पहरी, दिल बहादुर वि.क. र देवी माया सुनुवारको घर बस्न नमिल्ने क्षतिग्रस्त बनेको छ । पहिरोको कारण घरसँगै घरभित्र रहेको खाद्यान्न तथा सामाग्रीहरु पुरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । गौरीडाँडाको पहिरोका कारण अन्य २३ घर समेत जोखिममा रहेकोले उनीहरुलाई सुरक्षित स्थानमा सार्ने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

त्यस्तै पात्ले कै रतने भन्ने स्थानमा गएको पहिरोमा परी चारवटा पशुचौपाया पुरिएका छन् । रतनेमा स्थानीय पेम्बा तामाङको गोठ पुरिएको हो । पहिरोमा परि गोठमा बाधेर राखीएको दुईवटा माउभैसी र दुईवटा हल गोरु तथा मिन बहादुर तामाङको एकवटा रागा पुरिएका हुन् । पहिरोले पुरिएका पशुचौपायालाई स्थानीयको सहयोगमा घाईते अबस्थामा उद्धार गरिएको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

पहिरोका कारण स्थानीयले प्रयोग गर्दै आएको भुलभुले खोलाबाट निकालिएको पेल्ट्रिसेटमा समेत क्षति भएको छ । पहिरोका कारण स्थानीय भक्त बहादुर तामाङ, सिंह बहादुर तामाङ, महिरानी तामाङ, पेम्बा तामाङ र मिन बहादुर तामाङको परिवार जोखिममा परेको जिल्ला प्रहरी कार्याल्य ओखलढुङ्गाले जनाएको छ । जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रयास भैरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

पहिरो आएको थाहा पाउनासाथ स्थानीवासीहरु भने निस्केर भाग्न सफल हुँदा मानविय क्षति हुनबाट भने जोगिएको पनि प्रहरीले जनाएको छ । अहिले घटनास्थालमा अबलोकन निरिक्षणका लागि मोलुङ गाउँपालिकाका अध्यक्ष उत्तम राई, प्रमुख प्रशासकिय अधिकृत, अन्य जनप्रतिनिधी तथा प्रहरीको टोली घटनास्थलमा रहेको मोलुङ ७ का वडा अध्यक्ष हेम सुनुवारले जानकारी दिए ।