नेपाली समय Loading...२०८१ कार्तिक २ शुक्रबार

एनजी ल्याउने सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने

ओखलढुङ्गान्युज, १४ असार । दुइ विषय भन्दा बढीमा ननग्रेड आएका विद्यार्थीहरूले पनि मौका परीक्षा दिन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विहीबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई २०८०) मा दुईभन्दा बढी विषयमा नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेसँगै अनुत्तिर्ण विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका हुन् ।

ननग्रेडका कारण माथिल्लो कक्षा अध्ययनका लागि धेरै विद्यार्थीहरु बन्चित हुने भएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गर्न बिहीबारदेखि नै छलफल अघि बढाएर शुक्रबार निर्णय गरेकी छन् । मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन पाठ्यक्रम विकास केन्द्रलाई, परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन व्यवस्थापन गर्न र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न विद्यालय तथा सरोकार निकायलाई निर्देशन दिने निर्णय गरेको छ । सोही अनुसार सम्बन्धित निकायलाई पत्राचार पनि गरिसकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी अर्थात ५२.१४ प्रतिशत नन ग्रेड (एनजी)मा परेका छन् । गत वर्ष निर्देशिका संशोधन गर्दै दुईभन्दा बढी विषयमा एनजी लागेकाले अर्को वर्ष परीक्षा दिनुपर्ने तर एनजी लागेका विषयमा मात्रै दिनुपर्ने व्यवस्था गरिएको थियो ।