नेपाली समय Loading...२०८१ भाद्र २३ आईतवार

सिद्धिचरण नगरपालिकाका कृषकलाई मिनि टेलर र मिल वितरण

 

ओखलढुङ्गान्युज, १२ असार । जिल्लाको सिद्धिचरण नगरपालिकाले नगरपालिका क्षेत्रभित्र रहेका कृषक र कृषक समूहलाई कृषि सामाग्री वितरण गरेको छ । सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले आज एक कार्यक्रमका बिच कृषकहरुलाई उक्त सामाग्री वितरण गरेका हुन् ।

कृषकहरुको ब्यस्तता र सहजतालाइ मध्यनजर गरी कृषकहरुलाई यान्त्रिकरण तर्फ उन्मुख गराउने उदेश्यले कृषि सामाग्री वितरण गरिएको नगरप्रमुख खनालले बताए । सामाग्री पाएपछि कम जनशक्तिको प्रयोगले पनि धेरै उत्पादन हुनुका साथै किसानले कम खर्चमा पनि धेरै उत्पादन गर्न सक्ने नगरप्रमुख खनालले बताए ।

संघीय सरकारको कृषि प्रबर्द्धन कार्यक्रम र प्रदेश सरकारको कृषि यान्त्रिकरण कार्यक्रम अन्तरगत प्राप्त सशर्त बजेटबाट सामाग्री खरिद गरेर सामाग्री वितरण गरेको सिद्धिचरण नगरपालिकाका कृषि शाखाका बालि विकास अधिकृत भिम दर्जीले जानकारी दिए ।

दर्जीका अनुसार शशर्त कार्यक्रमका लागि प्राप्त बजेटलाई नगरपालिकाले सामान खरिदका लागि दुइ पटक ठेक्का लगाएको थियो । पहिलो ठेक्का मार्फत ७ एचपीका १५ थान र ५ एचपी  ४ थान मिनी टेलर, १७ थान मिल र ४ थान कोदो कुट्ने थ्रेसर मेसिन खरिद गरिएको थियो ।

त्यस्तै दोश्रो ठेक्काबाट ७ एचपीका १५ थान मिनिटेलर, ३८ थान मिल र ३ थान कोदो कुट्ने थ्रेसर मेसिन खरिद गरिएको थियो । खरिद गरिएको सामाग्रीहरु मध्ये पहिलो ठेक्कामा खरिद गरिएको सामाग्रीहरु ७५ प्रतिशत अनुदानमा कृषक समूह तथा कृषि सहकारीलाइ वितरण गरिएको दर्जीको भनाई छ । दोश्रो ठेक्काबाट खरिद गरिएको सामाग्रीहरु भने ५० प्रतिशत अनुदानमा कृषकहरुलाई वितरण गरिएको दर्जीले जानकारी दिए ।