चिशंखुगढी अपडेट: घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौँ पठाइयो

तस्वीर: गाउँपालिका अध्यक्ष निशान्त शर्माको वालबाट
ओखलढुङ्गान्युज, १२ असार । गए रातिको चिशंखुगढीको पहिरोमा परि घाइते भएका बाबु छोरीलाई हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको छ । चिशंखुगढी गाउँपालिका वडा नं. ५ शेर्नाको थुम्की भन्ने स्थानमा गएराति गएको पहिरोमा परी घाइते भएका ३९ बर्षका बाबुराम खत्री र उनकी छोरी १८ वर्षिया मेनुका खत्रीलाइ थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौँ पठाइएको हो ।
घाइते दुवैजना बाबु-छोरी हुन् । पहिरोमा परी घाइते अबस्थामा उद्दार गरिएका उनीहरूलाई शेर्ना स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरि राष्ट्रपति दैवि प्रकोप राहत उद्धार कार्यक्रम अन्तरगतको नेपाली सेनाको हेलिकोप्टर मार्फत उपचारका लागी काठमाडौं पठाइएको चिशंखुगढी गाँउपालिकाका अध्यक्ष निशान्त शर्माले जानकारी दिए । घाइते मध्ये बुबा बाबुरामको अबस्था गम्भिर रहेको पनि अध्यक्ष शर्माले जानकारी दिए ।
गएराति करीब साँढे ११ बजेबाट परेको भिषण बर्षातका कारण चिशंखुगढी गाँउपालिका वडा नं ५ शेर्नाको थुम्कीमा पहिरोले एक घर बगाएको थियो । घर बगाउँदा ३५ बर्षिया देवी खत्री बस्नेतको घटनास्थलमा नै मृत्यु भएको थियो भने उनका श्रीमान र छोरीलाई स्थानीयले घाइते अबस्थामा उद्दार गरेका थिए ।