नेपाली समय Loading...२०८२ बैशाख ६ शनिबार

चिशंखुगढीमा पहिरोले घर बगाउदा एकको मृत्यु, दुई घाईते

ओखलढुङ्गान्युज, १२ असार मंगलबार साँझदेखी परेको अविरल बर्षातका कारण चिशंखुगढी गाउँपालिकामा एकघर बगाउदा एकको मृत्यु भएको छ भने दुई जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा चिशंखुगढी गाउँपालिका वडा नं. ५ शेर्नाको थुम्की भन्ने स्थानका अन्दाजी वर्ष ४२ की देवी खत्री बस्नेत रहेकी छन् । बुधबार बिहानीपखको मध्यराती २ बजे घर बगाउदा उनको मृत्यु भएको हो ।

पहिरोले घर बगाउदा मृतकका श्रीमान अन्दाजी वर्ष ४२ कै बाबुराम खत्री र उनकी छोरी १७ वर्षिया मेनुका खत्री गम्भिर घाईते भएको चिशंखुगढी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष अनिल भट्टराईले जानकारी दिए । अहिले घाईतेहरुको उद्धार गरि उपचारका लाई शेर्ना स्वास्थ्य चौकीमा ल्याईएको छ भने मृतकको शब घटनास्थलमा नै रहेको छ ।

वडा अध्यक्ष भट्टराईका अनुसार मंगलबार साँझ देखी उक्त क्षेत्रमा ठूलो पानी परिरहेको थियो । ठूलो पानी सँगै घरमाथिबाट ढिस्को बगेर आउदा घर बगाएको थियो । घर बगाउदा घरमा तीनजना सुतिरहेका थिए । घर बगाएको थाहा पाउनसाथ स्थानीयहरु तत्काल घटनास्थलमा पुगेका थिए । खोजी गर्ने क्रममा बाबु र छोरीलाई घाईते अबस्थामा स्थानीयले उद्धार गरेका थिए भने मृतक बेपत्ता थिईन् ।

बेपत्ता भएकाको खोजी गर्ने क्रममा बुधबार बिहान देवीलाई मृत अबस्थामा फेला पारिएको वडा अध्यक्ष भट्टराईले जानकारी दिए । मृतकका छोरा पनि रहेको र छोरा भने अध्ययनका क्रममा सोलुखुम्बु जिल्लाको नेचामा रहेको कारण उनी भने सकुशल रहेको वडा अध्यक्ष भट्टराईले जानकारी दिए ।

घटनाको बारेमा जानकारी पाउनसाथ घटनास्थलमा प्रहरीको टोली समेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घटनाको बारे विस्तृत विवरण आउन अझै बाँकी रहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।