नेपाली समय Loading...२०८१ चैत्र २६ मंगलवार

आन्तरीक उत्पादनलाई प्रोत्साहन गर्न आयातित बस्तुमा सिद्धिचरण नगरपालिकाको कर

ओखलढुङ्गान्युज, १० असार । जिल्लाको सिद्धिचरण नगरपालिकाले नगरपालिका क्षेत्रमा उत्पादन भएका बस्तु उत्पादनको बजारलाई सुनिश्चितता गर्न आयातित बस्तुमा कर लगाउने भएको छ । सिद्धिचरण नगरपालिकाले आज सार्वजनिक गरेको नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा नगरपालिका प्रमुख तेजेन्द्र खनालले उक्त कुरा सार्वजनिक गरेका हुन् ।

नगरपालिकाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै प्रारम्भिक बालविकास तहदेखि नै मन्टेश्वरी विधिद्वारा आवश्यकता अनुसार अंग्रेजी माध्यमबाट समेत अध्यापन गराउने वातावरण बनाउन प्रोत्साहित गर्ने समेटेको छ ।

नगरपालिकाले आज नै आर्थिक वर्ष २०८१/८२ का लागि ६६ करोड ८१ लाख ५ हजार ८ सय १७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतले उक्त बजेट सार्वजनिक गरेका हुन् ।

सार्वजनिक बजेट कार्यक्रम अनुसार आगामी आर्थिक वर्षका लागि नगरपालिकामा संघीय सरकारबाट वित्तीय सामानीकरण अनुदान १० करोड ४५ लाख, समपुरक अनुदान ५० लाख, विशेष अनुदान १ करोड ५५ लाख र सशर्त अनुदान ३५ करोड ४२ लाख २१ हजार बजेट प्राप्त हुने अनुमान रहेको छ । राजश्व वाडफाँड संघीय सरकार १० करोड ४८ लाख प्राप्त  हुने अनुमान गरेको छ ।

त्यस्तै प्रदेश सरकारबाट सवारी साधन कर वाडफाँड बापत ८३ लाख ४८ हजार, वित्तीय समानीकरण ६३ लाख ८७ हजार, समपुरक अनुदान एक करोड ३० लाख र सशर्त अनुदान एक करोड ७० लाख ४६ हजार प्राप्त हुने अनुमान गरेको छ । आगामी आर्थिक वर्षमा मालपोत कार्यालयबाट घर जग्गा रजिष्ट्रेशन दस्तुर बाडफाडबाट ६५ लाख प्राप्त हुने र नगरपालिकाको आन्तरिक आय एक करोड ७५ लाख रहने अनुमान गरेको छ । बाँकी नपुग रकम आ.व. २०८०/८१ बाट बैङ्क मौज्दात अल्या १ करोड ५३ लाख ३ हजार ८ सय १७ रुपैया बजेट बक्तब्यमा अनुमान गरिएको छ ।