नेपाली समय Loading...२०८१ भाद्र २३ आईतवार

प्रदेश स्तरीय फुटबलमा ओखलढुङ्गा उपविजेता बन्दै जित्यो नगद २,२२,२२२

तस्वीर सौजन्य गोलनेपाल डटकम

ओखलढुङ्गान्युज, असार कोशी प्रदेश स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न भएको फाईनल खेलमा ओखलढुङ्गा उपविजेता बनेको छ । आज शनिवार तेह्रथुमको म्याङलुङ रंगशालामा सम्पन्न भएको कोशी प्रदेश स्तरीय अन्तरजिल्ला पुरूष फुटबल प्रतियोगितामा मोरङ जिल्लासँग स्तब्ध हुदै ओखलढुङ्गा जिल्लाको फुटबल टीम उपविजेतामा सिमित बनेको हो ।

उपविजेता बन्दै ओखलढुङ्गाले नगद रु २ लाख २२ हजार २ सय २२ का साथमा मेडल र प्रमाणपत्र हात पारेको छ । फाईनल खेलमा मोरङसँग २–० ले पराजित बन्दै उपविजेता बनेको हो । ओखलढुङ्गाले आफ्ना खेल अन्तर्गत सोलुखुम्बुलाई पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको थियो भने सेमिफाईनलमा झापालाई ट्राईब्रेकरमा ३–० ले पराजित गर्दै फाईनलमा मोरङसँगको भेट पक्का गरेको थियो ।

तस्वीर सौजन्य गोलनेपाल डटकम

ओखलढुङ्गालाई हराएर विजेता बन्न सफल बनेको मोरङले नगद रु ३ लाख ३३ हजार ३ सय ३३ का साथमा ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । मोरङको जितकालागि असोक खवास र साइमन लिम्बुले एक एक गोल गरेका थिए ।

प्रतियोगितामा ओखलढुङ्गाका मानष राई उत्कृष्ट मिड फिल्डर, मोरङका सुशिल राइ उत्कृष्ट खेलाडी तथा वेष्ट फर्वाडर, मोरङका असोक खवास वेष्ट डिफेन्डर, मोरङका पूर्ण चेम्जोङ वेष्ट गोल रक्षक, मोरङका मौषम लिम्बु म्यान अफ द म्याच,, तेह्रथुमका अप्सन लिम्बु उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षक मोरङका प्रकाश मल्ल घोषित भए । उत्कृष्ट सबैले जनही नगद रु ११ हजार १ सय ११ सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरे ।

प्रतियोगिता कोशी प्रदेश खेलकुद विकास वोर्डको आयोजना, म्याङलुङ नगरपालिकाको सहआयोजना र खेलकुद विकास समिति तेह्रथुमको संयोजनमा सम्पन्न भएको हो । असार ३ गते बाट सुरु भएर आज सम्पन्न भएको प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाले सहभागिता जनाएका थिए ।