गर्मीका कारण साउदी अरेवियामा हजमा जाने ६ सयको मृत्यु
ओखलढुङ्गान्युज, ७ असार । साउदी अरेवियामा हज यात्राका क्रममा ६ सय बढीको मृत्यु भएको छ । अत्याधिक गर्मीका कारण हज यात्राका लागि गएका अधिकांश वृद्ध वृद्धा र दीर्घ रोगीहरुको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अत्याधिक गर्मीका कारण बुधबार साँझसम्म ६ सय ४५ जनाको मृत्यु भइसकेको त्यहाँस्थित सञ्चारमाध्यमहरूले जनाएका छन् । मृत्यु हुनेहरुमा भारत, इजिप्ट, जोर्डन, इन्डोनेसिया, इरान लगायत देशका नागरिकहरू रहेका छन् । हज यात्रामा गएका भारतका मात्रै ६८ जना नागरिकको मृत्यु भएको त्यहाँस्थित कूटनीतिक नियोगलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले समाचार लेखेका छन् ।
हज यात्राका क्रममा गर्मीले बर्सेनि करीब हजार जनाको सङ्ख्यामा हजयात्रीहरुको मृत्यु हुने गरेको छ । तर यो वर्ष अझै गर्मीको समय बाँकी रहेकाले विगतभन्दा धेरैले ज्यान गुमाउनुपर्ने स्थिति बनेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।