नेपाली समय Loading...२०८१ चैत्र २६ मंगलवार

लिखुमा वडालाई बजेटको सिलिङ ४३ प्रतिशत, ५७ प्रतिशत पालिकामा नै

ओखलढुङ्गान्युज, ५ असार । लिखु गाउँपालिका ओखलढुङ्गाले आगामी आर्थिक वर्ष २०८१/८२ को योजना तथा कार्यक्रम निर्माणका लागि वडामा बजेटको सिलिङ दिएको छ । अब वडाहरुले पालिकाले तोकेको बजेटको सिलिङ भित्र रहेर योजनामा बजेट राखेर आगामी आर्थिक वर्षको कार्यक्रम निर्माण गर्नुपर्ने हुन्छ ।

लिखु गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्कीको अध्यक्षतामा बसेको श्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठले तीन सूचकको आधारमा वडागत बजेट सिलिङ दिएको हो । कार्यपालिकाको बैठकमा छलफल पश्चात सुरुमा वडालाई बजेटको सिलिङ प्रदान गरिएको भएपनि वडा अध्यक्षहरुले त्यसमा असन्तुष्टि जनाएका थिए । पून छलफल पश्चात पालिकाले वडामा बजेटको सिलिङ तोकेर पठाएको हो ।

वडाको जनसंख्या, क्षेत्रफल र राजस्व संकलनलाई बजेट सिलिङको लागि सूचक मानिएको लिखु गाउँपालिकाका प्रबक्ता मोहन कार्कीले बताए । यस पटक बजेटको सिलिङ निर्माण गर्दा वडामा करीब ४३ प्रतिशत मात्र बजेट पठाईएको छ भने करीब ५५ प्रतिशत बजेट पालिकाले आफ्नो तजविजमा खर्च गर्नेगरि राखेको छ ।

पालिकाका प्रबक्ता कार्कीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सबै भन्दा बढी वजेट प्राप्त गर्नेमा वडा नं. ९ पोकली बनेको छ । पोकलीले यस पटक पूर्वाधार विकास तर्फ ४४ लाख ५० हजार बजेट प्राप्त गरेको छ । त्यस्तै दोश्रोमा वडा नं. ८ टारकेराबारी रहेको छ । टारकेराबारीले पनि ३४ लाख ५० हजार बजेट पाएको छ भने वडा नं. ३ नर्मदेश्वरले ३१ लाख ५० हजार बजेट पाएको छ । बाँकी वडा नं. १ र २ सिंहदेवी, ४ र ५ यसम तथा ६ र ७ गाम्नाङ्गटारले समान २८ लाख ५० हजार बजेट प्राप्त गरेका छन् । 

प्रबक्ता कार्कीका अनुसार आर्थिक वर्ष ०८१–०८२ मा भौतिक पूर्वाधार तर्फ पालिकाको तजविजमा खर्च गर्ने गरी ३ करोड ६५ लाख अर्थात ५५ दशमलब १८ प्रतिशत बजेट आफैसँग राखेको छ । त्यस्तै पालिकाको सूचना प्रविधि अन्तर्गतको पालिकाको खर्चका लागि २ दशमलब २७ प्रतिशत अर्थात १५ लाख बजेट विनियोजन गरेको छ ।

नेपालको संविधान अनुसार देशै भरका स्थानीय सरकारले असार १० गते बजेट ल्याउनेछ । सोहि अनुसार लिखु गाउँपालिकाले पनि तयारी गरिरहेको हो ।  गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को  नीति तथा कार्यक्रम निर्धारित समय असार १० गते गाउँसभामा पेस हुने प्रवक्ता कार्कीले जानकारी दिए ।