लिखुका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रेसर र सुगर जाच्ने तालिम
ओखलढुङ्गान्युज, २८ जेठ । जिल्लाको लिखु गाउँपालिका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई तिनदिने समुदायमा आधारित नसर्ने रोग रोकथाम सम्बन्धि अभिमुखीकरण तालिम सुरु भएको छ । गाउँपालिकाको सभाहलमा आजबाट तिनदिन सम्म अभिमुखीकरण तालिम सुरु भएको हो ।
अभिमुखीकरण तालिममा ४० बर्ष माथिका प्रत्येक नागरिकलाई घरघरमा गएर मधुमेह (सुगर) रोग तथा उच्च रक्तचाप (ब्लड प्रेसर) जाँच कसरी गराउने भन्ने विषयको सिप सिकाइने लिखु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख डीएन चौधरीले जानकारी दिए । अभिमुखीकरण कार्यक्रम पश्चात तालिममा सहभागी महिला स्वास्थ्य स्वयमसेविकाहरुले वडाका प्रत्येक नागरिकको घरघरमा गएर सुगर र ब्लड प्रेसर चेक गर्न सक्ने अपेक्षा गरिएको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए ।
परिक्षणका रुपमा यस कार्यक्रमलाई कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले ओखलढुङ्गाका लिखु, खिजिदेम्बा, सुनकोशी र मानेभञ्ज्याङ गरि चारवटा पालिकामा लागु गर्दैछ । कार्यक्रम कार्यान्वयका लागि जेठ २८ देखी ३० गतेसम्म महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई र ३० गते नै स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
तालिममा लिखु गाउँपालिकाका ९ वटै वडाका प्रतिनिधि मुलक २-२ जनाको दरले १८ जना सहभागी रहेका छन् । अभिमुखीकरण कार्यक्रमको लिखु गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्कीको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत अर्जुन राउतको विशेष आतिथ्यतामा समुद्घाटन भएको हो ।