नेपाली समय Loading...२०८१ कार्तिक २ शुक्रबार

उज्यालोको खोजीमा त्यो अधेरी रात

ओखलढुङ्गान्युज, २५ जेठ । आबश्यक पर्ने कपडा लगायत सामानहरु खाँदखुद पारेर झोलालाई खुट्टे खाटमुनी राखेको, अनि हरियो क्यानबस जुत्तामा लेस भिरेर तयारि हालतमा राखेको पनि करिब हप्तादीन जति हुनलागेको थियो । सम्पर्क, समय र सम्पर्क स्थान निश्चित नहुँदासम्म त्यही झोला र क्यानबस जुत्तालाइ पुलुक्क-पुलुक्क हेर्दै, नयाँघर, थ्याङ्क्यु मिस्टर ग्लाड, अग्निदिक्षा” लगायत उपन्यासहरु पढ्दै दिनहरु बितिरहेका थिए ।

घरि-घरी काँधमा बन्दुक बोकेर परेड खेलिरहेको अनि बैरिको क्याम्प माथी धावा बोलिरहेको कल्पना गर्दै सम्पर्कको समय कुरेर बसिरहेको थिँए । ०५५ जेष्ठ १९ गते सर्टिपिकेट लेबलको दोश्रो बर्षको अंग्रेजी बिषयको बाँकी परीक्षा सकाएर परिक्षा केन्द्र पाटन संयुक्त क्याम्पसको गेटतिरबाटै चम्पट ठोक्ने चाँजो-पाँजो मिलाइएको भएतापनि समय र स्थानको फेरबदल भएर केहिदिन थप प्रतिक्षा गर्नुपरेको थियो ।

०५५ को जेठ २५ गते बिहान सबेरै तत्कालिन सोलु+ओखलढुंगा पार्टी सचिब गंगा कार्की कमरेड विश्व पनि भगवानपाउ, स्वयम्भुमा रहेको हाम्रो कोठामा टुप्लुक्क आइपुग्नुभयो । म र शिब बस्नेत जि सगै बस्थ्यौ । बिहानको खाना सँगै खाएर शिब बस्नेत आफ्नो नियमित डिउटिमा जानुभयो । मलाइ ११ बजे तयारी अबस्थामा सुन्धाराको खिच्चापोखरिमा आइपुग्नुहोला है भन्दै विश्वपनि निस्किनुभयो र त्यतै कतै बाटोतिर गायब हुनुभयो ।

किलो सेरा टू अप्रेशन सुरुभएको पनि महिनादिन बितिसकेको थियो । तत्कालिन राज्यसत्ताद्वारा माओबादीको अभियोगमा देशब्यापी रुपमा दर्जनौ नेता, कार्यकर्ता र सर्बसाधारण जनताहरुको बीभत्स ढङ्गले हत्याभइसकेको थियो । म काठमाण्डौ उपत्याकामै रहेर सर्टीपिकेट लेबलको परिक्षाको तयारि गर्दैगरेको भएर पुर्णकालिन हुनेसमय केही परसरेको थियो । किनकि  मलाइ पढाएर ठुलो मान्छे बनाउने बुबाको सपना थियो  । तर अफसोच ! ०५४ सालमा बुवाको दुखद निधन भएपछि, म प्रतिको बुबाको आशा,अपेक्षा र सपनाहरु पुराहुन त सकेनन नै, बरु बुबाको म प्रतिको सपनालाइ भताभुङ्गपार्दै, अनि आँफैप्रति निर्मम बन्दै, पार्टीको पुर्णकालिन कार्यकर्ता बनेर जनक्रान्तिको रक्तिम अभियानमा सकृय हुने निर्णय गरिसकेको थिए मैले ।

भित्ते घडिले बिहानको १०:२० बजेको जानकारी गरायो । क्यानबस जुताको लेस मसक्क कसेर झोलाच्यापेँ अनि बाँचिएछ भने फेरि भेटौला है भन्दै, साथिभाइ र छिमेकिहरुलाइ बाइ-बाइगर्दै कोठाबाट निस्किएर खिच्चापोखरी चोक नजिकैको डबलिमा पुगेर बसिरहेँ । निकैबेर पछि कमरेड विश्व आइपुग्नुभयो र यहि बसिरहनु है भन्दै पुन: गायब हुनुभयो ।

केटाकेटी बेला न हो ! बाख्रालाइ जस्तै छिन-छिनमै औधी भोकलाग्ने गर्छ भन्नुहुन्थ्यो बा ले  ! एबंरितले साँझको करिब ४  बजेसम्म बसिरहँदा भोकले पेटपनि बटार्न लाग्यो । नजिकै खाजाखाने ठाँउपनि थिएन । अलिक परतिर म : म : खान जाँउभनेपनि सम्पर्क छुटेर बर्बाद भइएला कि भन्ने चिन्ता लाग्यो । हैट ! आँफु त पुर्णकालिन कार्यकर्ता (W T) भएको पनि  चार-पाँच घण्टा भइसकेछ नि !

त्यतिबेला मोबायल फोनको चलन पनि आइसकेको थिएन। एबंरितले बेलुकाको ५ बज्नै लाग्यो । सुर्यका मलिन किरणहरु चन्द्रागिरिडाँडा सँग लुकामारि खेल्दै गर्दा, क विश्व र उहाँ जस्तै अग्ला अनि सोहिपाराका दुब्ला, पातला ख्याउटे देखिने अरु २ जना पुरुषहरु, कपाल काटेर टाउको मुडुलो बनाएकि एउटि २०,२२ बर्षिय चेलि, अर्कि छोट्टी-मोट्टि सोही उमेरकी युवती अनि एकजना डल्ले काले युबक गरि जम्मा ६ जना मानिसहरु फुत्त-फुत्त डबलिको नजिकै देखिए ।

सबैलाइ तलदेखी माथिसम्म नियालें अनि सबै सँग आँखा जुधाएर ४/६ वटा दाँतहरु देखाउदै, खिस्स हाँसे मपनि । हामिहरुको एकआपसमा यसरिनै परिचय भयो । कमरेड बिश्व धेरै पहिले देखि जान पहिचानको मान्छे हो । अरु सबै  अपरिचित तथा नयाँ मान्छेहरु तर आफ्नै मान्छेहरु, मेराप्यारा मान्छेहरु, राता मान्छेहरु !

पेटभित्र आन्द्रा चुत्तिखेल्न लागिसकेका भएतापनि खाजाखाने प्रस्ताब राख्न आँट पुगेन । बरु त्यतिकैमा एकजना ख्याउटेले लु अब जाउ भनेपछि सबैजना अलिपर रोकिरहेको निलोप्लेट नम्बर भएको, कुनै कुटनैतिक नियोगको जस्तो लाग्ने गाडिको पछाडी बाट फुत्त-फुत्त भित्र पस्यौ । इन्धन भरिएका ठुला दुइ वटा ड्रमहरु लोड गरिएको टाटामोबाइलको पछाडी चेप-चापगर्दै, हामि सबैजना मुस्किलले अट्यौ । सबै ठिक छ भनेपछि चालकले पछाडिको त्रीपाल झारेर टमक्क कसे अनि  गाडीस्टार्टगरेर  हुँइक्याए ।

बन्द गरिएको पाललाइ हल्का फटाएर मैले यसो बाहिरतिर चियाएँ । गाडी सुन्धारा, भोटाहिटि, सिंहदरबार हुदै बिजुलिबजार पुगेपछि कर्कशलाग्दो साइरन सहित प्रहरी भ्यानले पिच्छा गर्यो । मलाइ हल्का डरपनि लाग्यो । ला ! पुलिसले थाहा पाइसकेछ । प्रहरिले आक्रमण गर्यो भने प्रतिरोध गर्न भनेर माइन, ग्रीनेट लगायत हतियारहरु तयारि हालतमा राखिएको रहेछ । साथै ती पातला मान्छेहरुले कम्मरतिर खस्याक-खुसुक पारेर आँफुहरु सँग भएको पेस्तोललाइ पनि तयारि अबस्थामा राखे । कोटेश्वर कटेर गाडी सिधै भक्तपुर हुँदै बनेपातिर हुँइकियो । एबंरितले जगातिसम्म हाम्रो पिच्छा गरेर प्रहरी भ्यान सडकतिरै त्यतै अलाप भयो । अब चाहिँ ढुक्क भयो है ।

 हामिलाइ झन बढी बुरुक्क-बुरुक्क उफार्दै गाडी बनेपातिर हुइकिइरहयो । यो गाडीमा हामी कहाँसम्म जाने होला ? चक्कामाथिको अप्ठ्यारो बसाइ र बेसुरको हँकाइले उचाल्दै-पछार्दै गर्दा थिलो-थिलो भइसकेको ज्यानलाइ कहाँपुर्याएर बिसाउनेहोला ? हाम्रो आजको गन्तब्य कहाँसम्म होला ? त्यो ठाँउ कस्तो र कति सुरक्षित होला ? आन्द्राले त अघि दिँउसैदेखि चाकाचुली खेल्न थालिसकेका थिए । आजराती कहाँपुगेर मामखाएर नुनुगर्ने होला ? खुसुक्क सोध्न मन लाग्यो । तर आँट पुगेन । गाडी जति दौडन्छ, मेरो मन मष्तिषक भित्र त्यति नै बढि यी र यस्तै प्रकारका प्रश्नका ज्वारभाटाहरु मडारिन थाले ।

एबंरितले दोलालघाटको पुल पार गरेर गाडी साँगाचोक तर्फ मोडियो । साँगाचोक चौकिमा सेन्ट्री बसिरहेको प्रहरिले गाडी रोक्न खोजेजस्तो गर्यो । गुरुजिले खै के भनेर कुरो मिलाउनुभयो कुन्नि ? गाडी झन जोडसग हुइकियो । लु अर्को खतरा पनि पार गरियो है !

साँगाचोक त मेरो प्यारोसाथी बिनोद के सि को घर हो खत्री थोक । जनयुद्ध सुरुभइसकेपछि म, राजन न्यौपाने सर लगायत साथिहरु,बिनोद जि अनि बिनोदको बुवा रामकुमार के सि ३,४ दिन घुमेका थियौ साँगाचोक र इर्खु तिरपनि ! बालकृष्ण श्रेष्ठ, बाजुराम गिरि,लगाएत हरुको नाम पनि सुनेको थियो उहीँ बेला । साँगाचोक मा बि का पुर्ब  हेडसर अग्नि सापकोटा, नेता धुर्ब पराजुली, झम्क पराजुली, देबलाल श्रेष्ठ, गणेश बिक लगाएतको नामपनि उहिबेला सुनेको थियो मैले ।

खैर केही छैन, चौतारा नजिकै  इर्खु भन्ज्याङ्ग पुगेपछि गाडी टक्क रोकियो । गुरुजिले पाल खोलिदिनुभयो । हामी गाडिबाट फुत्त-फुत्त झरेर बाटोमुनि जंगलको झाडिमा छपक्क बिलायौ ।  अस्टेलियन परियोजनाको उक्त गाडिलाइ चालकले  जोडसग चौतारातर्फ हुइक्याए । हामी इर्खु हुँदै, लुरुलुरु कबासे बेशि तिरको ओरालो लाग्यौ ।

आखिर मानबिय जीवन न हो ! जतिसुकै बिचार ,दर्शन र आदर्स र क्रान्तिका कुरागरेपनि भोक,तिर्खा र थकाइले ओइलाइसकेको ज्यानलाइ, पैतालाले हिँडाइको चालमार्दै-मार्दै मुलबाटो छाडेर सहायक बाटो ओरालोतिर खुत्रुक्क-खुत्रुक्क  हुत्याइरहयौ । लु अबचाही म पनि खाँट्टी छापामार बनिसकेछु त ? मैले अन्तराष्ट्रीयताबादी क्रान्तिकारी योद्धा चे-ग्वेभारालाइ सम्झिए, जसले अत्यन्तै साहास, बिरता, बलिदानिपुर्ण भाबकासाथ कठिन र संघर्षपुर्ण जिन्दगी जिउदै, अन्तराष्ट्रीय श्रमिक बर्गको उन्मुक्तिको खातिर, अन्यभुमिमा आफ्नो प्राण आहुति गरि संसारभरिका सर्बाहाराबादी क्रान्तिकारी योद्धाहरुलाइ नया संदेसदिन सफल भएका छन ।

म आँफुले आफुलाइ चेग्वेभाराको असल सन्तानको रुपमा बुझेको छु । आफ्नो ब्याक्तिगत जिन्दगिका अनगिन्ती सपनाहरु, पढाइ, ब्याबसाय, घरपरिवार, नातागोता, साथिभाइहरु र आफन्तहरुलाइ चटक्क छाडेर यस्तो अत्यन्तै संकटपुर्ण अबस्थामापनि समाज, राष्ट्र र बर्गको निम्ति आफ्नो ज्ञान, बिबेक, चेतना र क्षमतालाइ प्रयोग गर्नुपर्छ । आफैले आफुप्रती गर्व गरे । तर अबको सबाल यो थियो कि म बाँचेर पनि मर्ने हो वा मरेर पनि बाँच्ने हो ?

साथिहरुले बोकेको २,४ पुरिया बिस्कुट र १,२ बोत्तल पानीले घँटि भिजायौ  । दाँत बिगार्यौ अनि ओरालो हुत्तिदै गर्यौ । तल कबासे बेसिको फाँटमा रहेको बस्तिका घरहरुमध्य एउटा घरको  ढोकामा क बिश्वले टुक-टुक संकेत गर्नुभयो । ढोका खुल्यो । हामी मध्य एकजना बाहिर सेन्ट्री बसेर अरु सबैजना भित्र पस्यौ । विश्व सरले टिमको गोजेरो भर्ने मेलो-मेसो मिलाउनुभयो । गाँउ सुनसान भैसकेको थियो । अब चाहिँ सानो स्वरले भएपनि बोल्न र मुख थुनेर खोक्न चाहिँ  पाइनेभयो ।

 स्थानियहरुको रिपोर्ट्अनुसार हामी दंगाप्रहरिको घेराभित्रै थियौ । त्यसैकारण बिहान करिब १०:०० बजेदेखी कसिएका क्यानबस जुत्ताचाही खोल्न पाइएन ,किन कि हामी छापामार ! हामी लालसेना ! सबैजनाले एक आपसमा परिचय गर्यौ । क विश्व भैहाल्नु भयो । उहाँजस्तै अर्को दुब्लो पातलो  धुर्बपराजुली कमरेड सन्तोष, सिन्धु+दोलखा पार्टी सचिब । अर्को सोहिपाराको अग्लो दुब्ले,पातले कमरेड देशबन्धु, कृष्ण प्र. सापकोटा ,कपाल मुडुलो बनाइ काटेर टाउको सलले ढाकिएकि  चेली देबी खड्का क अस्मिता, अर्कि बोलक्कड होची मोट्टी सुनिता अनि अर्को काले-काले होचे युबक डम्बर बि क अनि म त त्यतिकै बिबश भैगएँ ।

क्षणभरमै अगेनोमा गुन्द्रुक उम्लियो । अर्को तिर ढिडो ओडलियो । खाना तयारभयो । लु लु खाना खाँउ । क्षणभरमै सबैजना काप्लाक-कुप्लुक खाएर तयार भैसक्नु भएछ । एक त ढिंडोखानुपर्ने भएपछि घरमा हामी दिदिभाइको सधै रडाको हुनेगर्थ्यो । अर्कोतर्फ गाँउबाट गोठमा लैनो भैसिलाइ कुँडाेपकाउनको लागि ल्याइएको मकैको पिठोलाइ नचालि, केलाइ बनाइ नगरिकन ओडलिएको छेस्का, छुस्कि र भुससहितको मकैको ढिंडो र गुन्द्रुकलाई जबर्जस्ती २,४ गाँस कच्याउ-कच्याउ चपाइरहें मैलेपनि, साथिहरु फर्मेसनमा तयार हुँदासम्म ।

गन्तब्यमा पुग्न अझ धेरैथियो । सिन्धुपाल्चोकको त्यो ठाँउभनेको जनयुद्धको सुरुवातभन्दा अघिपनि र सुरुवातसँगै तिब्र दमन र प्रतिरोधको ठूलो संघर्षको कथा बोकेको ठाउँ पुर्बको रोल्पा नै हो । गाँउ बस्तिहरु प्राय दंगाप्रहरिको घेराबन्दी, खानतलासी, दमन, धरपक्कड, गिराफ्तरी र यातनाबाट ग्रसित थिए । मध्यरात भइसक्यो । मुलबाटो छाडेर पाखा र कान्लाहुदै, सालिम्मो र धँगेराका बुट्टाहरुसमाउदै त कतै आफ्नो शरीर पहरामा चिथोरि माग्दै, पाखा, कान्ला र पहराहरु नङ्ग्र्याउदै गन्तब्यतर्फ  लम्किइरहयौ । चिनियाँ कम्युनिष्टपार्टीका अध्यक्ष कमरेड माओत्सेतुङ्गको नेतृत्वमा तत्कालिन घरेलु को-मिन्ताङ्ग प्रतिकृयाबाद र तत्कालिन जापनिज साम्राज्यबादी आक्रमणको प्रतिरोध गर्नेक्रममा, लाखौ चुनौतिहरुको सामना गर्दै लडिएको सशत्र जनयुद्ध र हज्जारौ मायल दुरिको चर्चित लम्बे अभियानको बलिदानिपुर्ण गाथाले पनि हरेक दुख, कष्ट र चुनौतिहरुको सामना गर्न मलाइपनि सिकाइसकेको अनि तयार बनाइसकेको थियो ।

भर्खरै गठनभएको जनसेनाको निम्ति पहिलोपटक तयार गरिएको पाँचकुने रातो तारा अंकित क्याप सहितको हरियो पोशाक सबैले लगायौ । मैलेपनि लगाएँ । सबैले आँफुहरुसंग भएको हतियारलाइ तयारि अबस्थामा बोक्नुभयो । क सन्तोष र क बिश्वको कम्मरमा भिरिएको ती फ दि लेखिएको पेस्तोललाइ मैलेपनि सुम्सुम्याए अनि वल्टाइ पल्टाइ खेलाइइरहे निकैबेर सम्म !

हामी पाखै पाखा अघि बढिरहयौ रात ढल्किदै थियो । मुलबाटो छाडेर पाखा र कान्ला हुँदै, गन्तब्य तर्फ  लम्किइरहयौ । बिहानपख घडिचराको पहिलो संगितसँगै पुर्ब क्षितिज राताम्य भयो ।

मिर्मिरे बिहानिमा उज्याला किरणहरु बस्तिमा खस्न नपाउदै, कुबिण्डे गाबिसको  दक्षिण गोल्मागाँउ, नेवार समुदायको बस्तिमा प्रबेस गर्यौ । नारायण श्रेष्ठ, हिरालाल हाल श्रेष्ठ कमरेड सुन्दरको घरपछाडि ग्वालिमा बाँधिएका गाई बस्तुहरुमध्य एउटा गोरुले अस्वभाबिक प्रतिकृया जनाउदै, उसको मालिकलाई युनिफर्म सहितको हुल आएको जानकारी गरायो । घरको ढोका खुल्यो । एक आपसमा अभिबादन साटासाट गर्दै हामी सरासर घरको बुइगलमा पुगेर झोलाहरु बिसायौ । तिब्र दमन, धरपकड, यातना र राज्यको हदैसम्मको ज्याद्दतीको पिँडा खेपेको त्यो बस्तिका पशु चौपायहरु पनि  आँत्तिने अबस्था भएर नै त्यो बिबेकि गोरुले बाहिर हतियार सहितका बर्दिधारि मान्छेहरु आए है भनेर आफ्नो मालिकलाइ सचेत गराएको हुनुपर्छ । त्योभन्दा बढी पशु वाक्य बुझ्न सकिएन ।

हाम्रो टिमलाइ सुरक्षित राखेर गाँउलेहरु सबैजनाले दिनभरि पालै-पालो सुरक्षा पहराको भुमिका पुरागर्नुभयो । हामिहरु अत्यन्तै थाकेर आएको अनुभूती भएर नै हुनुपर्छ, चराको सुपसहितको पोसिलो खाना तयारगरेर हामिहरुलाइ उठाउनु भयो । संगठनलाइ अत्यन्तै मायागर्ने कुबिण्डे र गोल्मागाउका प्राय सबै जमताहरु पार्टी कमिटीमा संगठित हुनुहुदोरहेछ ।  जनक्रान्ति प्रतिको जनताको त्यो जुझारु एकता, संगठनात्मक कृयाशिलता र क्रान्तिकारी दृढतालाइ भित्री हृदयबाटै सलाम अनि नमन गर्न मनलाग्यो मलाइ !

कमरेड सन्तोषले तत्कालिन कुबिण्डे गाँउपार्टी कमिटी इन्चार्ज आर सि शर्मा कमरेड बिज्ञान  र तत्कालिन जिल्ला पार्टी स्काउट प्रमुख कमरेड बिबेक(आशिष) लाई बोलाएर टिम को-अर्डिनेसनको जिम्मा दिनुभयो । बिकेन्द्रीत रुपमा आसपासमा रहेको  नेता कमाण्डरहरु सहितको टिम साँझ अबेरसम्ममा केन्द्रीत भयो । कमरेड क्षितिज, कमरेड ज्वाला, कमरेड रामजी, कमरेड पहल, कमरेड  दिनेश, कमरेड बालक, कमरेड झिल्को, कमरेड मुक्ति, कमरेड सुन्दर, कमरेड आनन्द, कमरेड अजित, कमरेड तस्बिर, कमरेड किशोर, कमरेड मुनाल, कमरेड बिकास लगायतको टिमसँग  जिल्लापार्टीको विशेष योजना सम्प्रेषण सहितको भेटघाटपनि रहेछ त्यो भेट ।

कमरेड बिश्वले मलाइ बिशेष ढंगले प्रशिक्षित गर्दै, विशेष जिम्मेवारि सहित आफ्नै कार्यक्षेत्र जानुपर्नेकुरा जानकारी गराउनु भयो । जनसेनाको पोशाकमा, कम्मरमा खुकुरी भिरी,काँधमा भरुवा बन्दुक बोकेर जनताको आँगनिमा परेड खेलिरहेको जनसेनाको त्यो लोभलाग्दो अनि भब्य पंतिभित्र आँफुलाइपनि लुकाउन मन थियो मलाइ ! सँगै-सँगै परेड खेलिरहन मन थियो । त्यो रहरलाग्दो टोलिछोडेर हिड्न मनै थिएन मलाइ ! त्यसो त त्यही टोलि सँग परेड खेल्न धित मरेकै थिएन मेरोपनि ! तै पनि कमाण्डरको आदेश मुताबिक  जिरी खश्रुडाँडा स्थित कुमार खड्काको नाममा लेखेर स्टिच मारिएको सानु  चिर्पेटो चिट्ठिलाई सुरक्षित ढङ्गले बोकेर, भोलिपल्टको राती अबेरतिर मैले बिज्ञान र बिबेकको धुमिल आकृतिलाई पिच्छागरेँ ।

एबं रितले बिहान पख कुबिण्डेको गाउको सुभद्रा सापकोटाको घर पुग्यौ । हल्ला-खल्ला नगरिकन कमरेड बिबेक लामो बाँसको साहाराले कलात्मक ढंगले माथिल्लो तलाको झ्यालसम्म पुगेर संकेत गर्नुभयो । घरभित्र पसेर  घरको ढोका खोल्नुभयो । केही बेर आराम गर्यौ । (माहान सहिद कमरेड सुभद्रा सापकोटा लगायत ७ जना जनकलाकारहरु लाइ तत्कालिन राज्यसत्ताका प्रहरिहरुद्वारा ०५५ चैत्र ५ गते काभ्रे जिल्लाको अनेकोटमा सेल्टरमा बसिरहेको अबस्थामा, तत्कालिन अबस्थाको काभ्रे जिल्लाको चर्चित नेता भनेर चिनिने सुराकिको आधारमा घर घेराहालेर जिउदै आगो लगाएर हत्यागर्यो  खुनी शासकले ) ।

बिज्ञान र बिबेकले मलाइ बिहान कुबिण्डे बेँसिको लामोघर पुर्याएर जलबिरे सम्मको रुटको बारेमा बताइदिनुभयो । तत्कालिन समयका कुबिण्डे बेशिको लामोघर र आसपासका बालसेनाका कमरेडहरु सँग साक्षात्कार गर्दा म पनि सानोहुदा “रातोतारा चम्किएपछि” नामक नाटकमा हर्कपुरको नेपाल पँधेरामा ०४२/०४३ तिर  आफुले खेलेको बालसेनाको कमाण्डरको भुमिकाको पुन:स्मरण भयो । म आँफुपनि खिस्स हास्दै बिदा भएँ र जलबिरेबाट काठमाण्डौ- जिरिको बस चढेँ ।

 बेलुका अबेर खश्रुडाँडा पुगेर बिश्वले पठाउनुभएको चिट्ठिलाइ कुमार खडका सरको हातमा थमाएँ । पुष्कर, बालकृष्ण, वसन्त, कृपाश्वर लगायत तत्काल यता कोहिपनि साथिहरु सम्पर्कमा नभएकोले टिम सम्पर्क नहुँदासम्म सोहि परिवारको सदस्यको रुपमा, त्यहि बस्नुपर्ने प्रस्तावलाई स्विकार्दै उहाँहरुसगै बारिमा कामगर्दै  कहिले आलुखन्दै त कहिले कोदोरोप्दै अनि कहिले पत्कर सोहोर्दै त कहिले लेयर्स कुखुरा फर्ममा कामगर्दै, दोलखाको पुर्ब सांसद, एउटा सरल क्रान्तिकारी कम्युनिष्ट नेता इन्द्र बहादुर खडका, आई वि सर, मेडम, उहाको भाइ बलराम खँडका, छोरा हरु  केन्द्र, कुमार, म्यडमहरु लगायत परिवारका सदस्यहरु सँग निरन्तर करिब १५,१६ दिन बिताएपछि सम्पर्कको खोजिमा म एक्लै दोलाखाका लोकप्रीय नेता कृष्ण दाहाल कमरेड कृपाश्वरको घर माली पुगेँ ।

नानिहरु कमला, बिमला, भाइहरु किशोर र बिश्वास अनि मेडम सहित सबैसँग भेट भयो ।  नानी बाबुहरु सानै थिए । पहिले त उहाहरुले बिश्वास गर्नुभएन । भेष बदलेर कुराबुझ्न आएको सि आइ डि पनि त हुनसक्छ भन्ने लाग्यो रे । तर मैले आफ्नो परिचय सहित बिस्वस्त पारे । कुरा गआई विर्दै गएपछि बल्ल-बल्ल बिस्वास गर्नुभयो । खाजाखायौ अनि टिम सम्पर्क हुनेसाथ को-अर्डिनेसन गराउने प्रतिबद्धता सहित म पुन: ब्लुडाँडा फर्किए । (पछि कमरेड बिश्वास पार्टीको पुर्णकालिन कार्यकर्ता भएर जनमुक्तिसेनाको जिम्मेवार कमाण्डरको रुपमा तत्कालिन साहिसेनाको आक्रमणको दृढतापुर्बक प्रतिरोधगर्दै, जनता र आफ्नो टिमको रक्षा गर्ने क्रममा मकवानपुर जिल्लाको झुरझुरे मोर्चामा ढलेर माहान शहीदको पंतिमा आफ्नो नाम दर्ज गराइसक्नु भएको छ।)

केही दिनपछिको गोँधुली साँझमा हाम्रो घरको आँगनिमा अर्को एकजना अपरिचित मान्छे आइपुग्नुभयो र मेरै पाराले सानो चिर्केटो निकालेर कुमार सरलाइ दिनुभयो ।  कुमार सरले मुसुक्क हाँसेर, म तिर इसारा गर्दै ,”उहाँपनि हाम्रैसाथी हो अनि तपाईंकै जसरी सम्पर्ककै निम्ति कुरिरहनु भएको छ । अब दुबैजना सगैबस्ने । “भन्दै खिस्स हाँस्नुभयो । हामिहरुले एक-आपसमा हात मिलायौ । परिचय गर्यौ, नयाँ आगन्तुक  कमरेड  जिवन, म चाहिँ बिबश । कमरेड जीवन, मान बहादुर अर्थात महेन्द्र श्रेष्ठ सिन्धुलि जिल्लाको मात्र नभइ, जनयुद्धले जन्माएको  पुर्बि नेपालकै एउटा सशक्त, होनहार राजनैतिक एबं फौजी कमाण्डर हुनुहुन्थ्यो । हामी एकआपसमा पुन: बर्गप्रेमको प्रेमालिंङ्गनमा मसक्क कसिएर अंकमाल गर्यौ, लामो समयसम्म !

असारे झरी, पैताला देखि टुप्पिसम्मनै  विभिन्न साना-ठुला आकारका जुकाको टोकाइले रगताम्य भएको ज्यानले मेलापातको काम सकेर सँधै झै गरिने छलफल र बहसहरु अब नयाँढंगले अघिबढन थाले । मैले आलुलाइ नतासी खाए पहिलो पटक  आई वि सर बाटै सिकेको हो ।

आई वि सरको मेडमले उहाको पुरानो तल्लो घरको बुइगलमा सि पि मैनाली, माधब नेपाल, प्रदिप नेपाल, प्रदिप ज्ञावलि, राधाकृष्ण मैनालि लगायत कम्युनिष्ट नेताहरु भुमिगतभएको बेला बस्दाको बखत बुइगलमा पिसाप फेर्दा पिसाप उछिट्टिएर बसेका पिशाबका टाटा दागहरु अझसम्मपनि रहेको स्मरण गराउदै, “कम्युनिष्टहरु पहिले खुबै क्रान्तिकारि हुन्छन, कुरापनि क्रान्तिकै गर्छन तर अबसरहरु पाएपछि क्रान्ति, जनता, राष्ट्र अनि परिबर्तनलाइ सि पि राधाकृष्ण र प्रदिपहरुले झै सबै बिर्सिन्छन र आफ्नो दुनो सोझ्याउनतिर लाग्छन । भाइ अहिले  सानै छौ । पछि कुरा बुझ्नेनै छौ भन्दै, तिम्रा नेताहरुपनि त्यही ड्याङ्गका मुला त हुन नि ? आखिर भोलि त्यसैगरी सड्न सक्छन ।” भन्दै त्यो कहालिलाग्दो अतितलाइ सम्झिनुभयो । मैले अब कुनैपनिहालतमा त्यस्तो हुदैन र हुनपनिदिइने छैन भन्ने जबाफ दिदै बिस्वस दिलाउन कोसिस गरे ।

एबं प्रकारले दिनहरु बित्दै गए । जिरिको हाटडाँडामा भर्खरै तत्कालिन शाही सेनाआएर क्याम्पिङ्ग गर्दैथियो । आफ्नो नियमित डिउटी, गस्ति र आर्क क्लियरको निम्ति प्राय दैनिक जसो सेनाले हतियार सहित त्यही इलाकाबाट चेर्दुङ्गको जंगलतिर गस्ति जान्थ्यो र लामोसमय जंगलतिरै हराएर बेलुका अबेर पुन त्यहिबाटो क्याम्पमा फर्किने गर्दथ्यो ।

एकदिनको  साँझ हामिले सधैझै कामसकेर खाना खाइसकेका थियौ । बेलुकीको करिब ९ बजेको हुनुपर्छ तलबाट एउटा गाडी झलमल्ल उज्यालो बाल्दै,  हुइकिएर आयो अनि आई वि सरको पल्लोघरमा रोकियो । मेडमले आत्तिदै पुलिस आयो-पुलिस आयो भन्नुभयो । हामी हत्तार-हत्तार गरेर घर नजिकैको झाडितर्फ भाग्यौ । कमरेड महेन्द्र श्रेष्ठ धेरै पाको र परिपक्क नेता तथा कमाण्डर पनि हुनुहुन्थ्यो । म चाहिँ लु अब आजै मरिने भैयोकि त झैगरी बेतोडले झाडितिर हुन्ठुनिएछु । भाग्नत हामी सगै भाग्यौ तर मेरोभगाइ अलि अस्वभाबिक पनि भएछ क्यार ?

झरिमा भिज्दै, स्वासलाइ पनि दबाएर  अँध्यारो र असारे झम्केझरिमा झाडिमा लुकिरहयौ । केहिबेर पछि कुमार सरले स्थलगत अध्यान गरेर फर्किएपछि हामि भागेको झाडि नजिकै आएर संकेत गर्दै बोलाउनुभयो । हामी झाडिबाट फुत्त-फुत्त निस्किएर घरतिर गयौ । त्यो गाडी सेना प्रहरिको नभएर तत्कालिन ए मा ले नेता आनन्द पोखरेलको रहेछ ।  त्यो दिन आई वि सरसँग भेटघाटगरी त्यही बस्न आउनुभएको  रहेछ ।

अलिक सास आयो तर घंगारु र चुथ्राको काँडाहरुले चिथोरेर अनि जुकाले टोकेर शरीर रगताम्य भैसकेको थियो  । चेर्दुङ्ग डाँडाले झटारो हानेर हुण्ठुनिदै बेतोडले हुइकिएको  चिसो सिर्याटोको कसिला झोक्काहरुले छुलुक्क-छुलुक्क केजाती बनाउला जस्तो भैसकेको थियो भने झरिमा निथ्रुक्क भिजेर जाडोले मुट्टुसमेत काँपि रहेको थियो ।  सरिरमा भेट्टाएसम्मका जुगाहरु टिपेर मुस्किलले रगत रोक्यौ । हैट ज्यान त गोलि नलागेपनि रक्तमुछेल भइसकेछ नि  जीवन कमरेड ! ओहो ! क्रान्ती त सार्है गार्हो पो हुनेरहेछ है ? सबैजना हाँस्नुभयो ।

रगताम्य सरिरलाइ पुन: पुछ-पाछ पारेर सुत्यौ । (कमरेड महेन्द्र श्रेष्ठलाइ पनि सेल्टरमा बसिरहेको बेला २०५५ भाद्र अन्तिममा ओखलढुङ्गाको ठुलाछाप बाट सुराकिको आधारमा प्रहरिले आफ्नो कब्जामा लिइ २०५५ असोज ३ गते उदयपुरको खोक्सामा तावाखोलाको बगरमा पुर्याएर दोहोरो मुठभेडको नाममा नेपाल प्रहरिले हत्यागर्यो ।)

सम्पर्क बिहिन ढंगले लामोसमयसम्म एकैठाँउमा बसिरहनुपर्दा सुरक्षा खतरापनि त्यतिकै बढि थियो । छिमेकि हरुलेपनि अलिक बढी चियो, चर्चो र चासोलिन थालिसकेको अबस्था थियो । अबत आँफुहरुलाइ पनि अप्ठ्यारो लाग्ने कुरापनि भैहाल्यो । फेरि हामी दुबैजना माली गयौ । अझ सम्मपनि सम्पर्कमा कोहि आउनुभएको रहेनछ । पुन फर्कियौ र एबं रितले दिन बितायौ । केही दिनपछिको एउटा गोधुलिसाँझमा एकजना नयाँमान्छे, म जस्तै नौजवान गोरो युवा टुप्लुक्क आइपुग्नुभयो । सर, म्यामहरुसँग सहज रुपमा अभिबादन साटासाट गर्दै हामि भएको ठाँउतिर आएर पत्रकारले  झै गरि ५ क को प्रयोग गरेर अन्तर्बार्ता लिन सुरु गर्नुभयो । मुस्किलले हामी दुबैजना पासभयौ । उहाको नाम कमरेड सन्देश थियो ।

२४/२५ दिनको खश्रुडाँडाको बसाइ, कुमार सर,मेडम, निर्मला म्याम, आई वि सर/मेडम, बलराम जि, केन्द्र भाइ र सानु अतीत खड्का लगायत सबैजनालाइ बाइ-बाइ गरेर हिड्नै पर्नेभयो ।

 मार्क्सबादी बिचार/सिद्धान्त र सर्बाहाराबर्गिय आचारण/ ब्यबाहारको बिचको उचित सन्तुलन मिलाउन सकेको IB परिवारसँगको लामो सहकार्य, त्यसमाथी कमरेड महेन्द्र श्रेष्ठ सहितको बैचारिक राजनैतिक छलफल, बहस अनि एकाआपसको गहिरो आँत्मियता र भाबनात्मक  सम्बन्ध  मेरो मानसपटलमा गहिरो छापबनेर जिबनभरि ताजा स्मरणको रुपमा रहिरहेको छ । बास्तबमै खश्रुडाँडा मेरो मन-मष्तिष्कमा एउटा महत्वपुर्ण मार्क्सबादी बिश्वबिध्यालयको रुपमा  स्थापित भैसकेको थियो । तर अफसोच ! कार्यक्षेत्र परिबर्तन लगायत अन्य थुप्रै कारणलेपनि अनि जिरी-काठमाण्डौ सयौपटक गरेतापनि त्योभन्दा पछि म त्यहा पुग्न सकिन । मलाइ कता-कता ग्लानि भैरहेको अनुभुत हुन्छ ।

 मनले नमान्दा नमान्दैपनि हामिले ती अनुहारहरु  सहित खश्रुडाँडालाइ बाइ-बाइगर्दै, कमरेड सन्देस (नरेश श्रेष्ठ, तौथलीसहर सिन्धुपाल्चोक) लाइ पिच्छागर्दै-साँझको समयमा मालिको स्यावा पुग्यौ ।

(कमरेड सन्देश र म उहीँ जिम्मेवारिमा रहेर सिन्धु-दोलखा र सोलु-ओखलढुङ्गा, काभ्रे+रामेछाप लगायत पुर्बी पहाडी बस्तिहरुमा भयानक चुनौतिहरुसग खेल्दै, अत्यन्तै महत्वपुर्ण जिम्मेवारिहरु पुरा गर्दै, जिबनमरणको लडाइ लडिरह्यौ र लड्ने क्रममै २०६२ को ..महिनामा दक्षिणी भोजपुरको घोरेटारमा तत्कालिन साही सेनाको आधुनिक फोर्टिफिकेसन सहितको ब्यारेक माथी हमलागर्दा कमरेड सन्देश र म भिन्न-भिन्न ग्रुपको एसल्ट वान मा नै रहेर लड्यौ । सेनाको शक्तिशाली प्रतिरोधको साथै नाइटभिजन हेलिकप्टेरको तोराबोरा ब्लाष्ट सहितको शक्तिशालि आक्रमणको मुस्किलले सामना गर्दै, मोर्चाको असफलतापछी फर्कने क्रममा जासुसी स्काइभ्यान सहित दुश्मनले हेलिकप्टेरबाट आक्रमण गर्दा, मैयुको लेकमा उकालोमा मेरै आँखा अगाडि कमरेड सन्देश लगायत महत्वपुर्ण तथा जिम्मेवार कमरेडहरुको भौतिक शरीर ढल्यो । करिब एक दशक लामो सहकार्यगरेको मेरो मुट्टुको टुक्राजत्तिकै प्यारो कमरेड सन्देश लगायत कमरेडहरुलाइ चपक्क अँगालोमा बोकेर खाल्टोमा हाल्यौ । अनि भक्कानिएको मन,चिरा-चिराभएको गरुङ्गो हृदय लिएर अघि बढिरहयौ ।)

 स्यावामा प्रकाश, दिप, गेल्बु, सुन्दर लगायत टोलिसँग भेटघाट र परिचय पश्चात् खाना खायौ । आँफुभन्दा अगाडिको आकृती आफ्नै साथी हो कि रुखको ठुटोहो भनेर ठ्म्याउनपनि नसक्ने चुक घोप्ट्याए जस्तै अन्धकार रातमा, आँफु अगाडिको धुमिल आकृतिलाइ संकेतको रुपमा लिदै, मुसालधारे झरी, चिप्लो बाटो अनि पैतालादेखी टुप्पिसम्म जुगाको  टोकाइको सामाना गर्दै, रक्तमुछेल शरीर, अनि चिप्लोबाटो रातभरिमा सयौपट्क लड्दा हिलो र झरिले निथ्रुक्क भिजेको, हिलाम्य, थकित अनि थिलो-थिलो भइसकेको जिन्दगिलाइ तामेडाँडाको क्षितिज खुल्नुअगाबै त्यो अँधेरी रातमै, जिरिको तल खिम्ती खोला आसपास छाँगेको दिपक सरको घरको बुइकलमा लगेर बिसायौ ।

बास्तबमै दृष्टि क्षितिजमा सल्बलाइरहेको नेपाली श्रमिक बर्गको उज्यालो भबिश्यलाई चुम्नको निम्ति, छात्तीभित्र रातो र तातो रगत सल्बलाइरहने क्रान्तिकारी युवाहरु द्वारा, श्रमिक बर्गको उज्यालो भबिश्य अनि आम नेपाली जनताको नयाँ बिहानिको खोजिमा, हज्जारौ खतराहरुसँग पौठेजोरी खेल्दै, दुख,कष्ट र अनगिन्ति हैरानिहरुले भरिएको निष्पट्ट अँधेरि रात थियो  त्यो रात ! 

देबलाल श्रेष्ठ कमरेड बसन्तको नेत्तृत्वमा रहेको बिनिता सहितको  टिमसँग हाम्रो  सम्पर्क भयो । (कमरेड देबलाल श्रेष्ठ वसन्त, संगठनात्मक कामको सिलशिलामा २०५५ पौसमा,उदयपुर जिल्लाको तावाश्रीमा पुगेको बेला कमरेड वसन्त, ठुलोकुमार श्रेष्ठ  लगाएत ३ जना कमरेडहरुको हत्या भयो )। एक-आपसमा परिचय गर्दै कसिला हातहरु मिलायौ । भोक,निन्द्रा र थकाइले लखतरान भैसकेको जिन्दगिलाई भ्याइ नभ्याइ झै गरि पैतालादेखि टुप्पिसम्मनै लुछिरहेका खरिजुगा हरुलाइ हामिहरुले पनि लुछ-लाछपार्यौ । जुगाको बेजोडको टोकाइद्वारा रक्तमुछेल भैसकेको पुरै शरिरलाइ पुछ पाछ पार्दै, शरिरका दर्जनौ ठाँउबाट  भल्भली बगिरहेको रगतलाइ मुस्किलले रोक्ने कोसिस गर्यौ अनि आलु,पिँडालु र मकैका घोगाहरुमाथी ओछ्याइएको गुन्द्रीमा  ज्यान फ्यालेर दिनभरी आरम गर्यौ । अनि साँझपरेपछि पुन अर्को गन्तब्यको निम्ति बाटो ततायौ, सोहिपाराले !!!

२०५५  जेष्ठ २५ को सम्झनामा