शुक्रबार बिहान १० बजेदेखी थुनियो तामाकोशी नदी, तटिय क्षेत्रमा जोखिम
ओखलढुङ्गान्युज, १८ जेठ । दोलखा जिल्लाको तामाकोशी नदी किनारमा सुख्खा पहिरो खस्दा तामाकोशी नदी थुनिएको छ । शुक्रबार बिहान करिब साँढे १० बजेतिर दोलखाको बिगु गाउँपालिका वडा नं. १ लामाबगर स्थित क्यालु खोला र देउरालीको बीचमा सुख्खा पहिरो खसेर नदी थुनिएको हो ।
सुख्खा पहिरो खसेर बिगु गाउँपालिका १ लामाबगर स्थित क्यालु खोला र देउरालीको बीचमा रहेको नदीको भागमा सानो ताल बनेको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार मध्यान्ह २ बजेबाट भने सानो ताल भरिएर विस्तारै नदी बग्न थालेको छ ।
सुख्खा पहिरोले नदी थुनिए पछि नदी तटिय क्षेत्रमा रहेका बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । नदी थुनिएको भागबाट एकैपटक थुनिएको स्थान भत्किएमा नदी किनारका बस्तीहरूमा समेत क्षति हुन सक्ने आशंका गरिएको छ । तर हिउँदयाम भएका कारण तामाकोशीमा पानीको वहाव कम रहेको र बिस्तारै नदी खुलेकाले तटीय क्षेत्रमा ठुलो क्षतिको जोखिम भने कम भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
पहिरोले अवरुद्ध भएको नदीको पानी खुलेर आउदा तामाकोशी जलविद्युत् आयोजनाको लामाबगर स्थित बाँधस्थलमा आएर भरिनेछ । तर नदी थुनिएर बनेको ताल एकैपटक खुलेमा क्षति हुनेछ । लामा बगरमा निर्माणाधीन अबस्थामा रहेको नासा हाइड्रोपावर र सानिमा हाइड्रोपावरले सडक निर्माण र विस्तार गर्ने क्रममा सुख्खा पहिरो खसेको बताइएको छ ।