चट्याङले लागेर ओखलढुङ्गामा एकको मृत्यु
ओखलढुङ्गान्युज, ३ जेठ । हावाहुरी र पानीसँगै परेको चट्याङका कारण ओखलढुङ्गामा एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ५ माथिल्लो रिचुवा वस्ने ६६ बर्षका तिलक बहादुर मगर रहेका छन् ।
बुधबार घरबाट केही टाढा रहेको सुवाडाँडा सामुदायीक वनको जंगलमा गोठालो गएका मगरलाई अपराह्न ५ बजे बर्षातसगैँ परेको चट्याङले लागेको थियो । चट्याङले लागेर बेहोस भइ ढलेका मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।
घटनाको बारेमा स्थानीयले प्रहरीलाई राती ९ बजेपछि मात्र जानकारी गराएको प्रहरीले जनाएको छ । प्रहरीले सूचना पाउनासाथ घटनास्थलमा मानेभञ्ज्याङ प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको र शबको कानुनी प्रक्रिया पूरा गर्नका लागि विहिवार विहानै प्रहरी निरीक्षकको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट थप प्रहरीको टोली घटनास्थलतर्फ गएको ओखलढुङ्गा प्रहरीले जनाएको छ ।