चट्याङले लागेर लिखुमा ४ घाइते
ओखलढुङ्गान्युज, ३० बैशाख । पानीसँगै अचानक परेको चट्याङका कारण लिखुमा एकै घरका चारजना घाइते भएका छन् । जिल्लाको लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वरको दुरागाउँ भन्ने स्थानमा आइतबार विहान करीब साँढे ६ बजे चट्याङ पर्दा एकै घरका चारजना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा जिल्लाको लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वरका कृष्ण बहादुर जोगीको श्रीमती कल्पना जोगी, अन्दाजी १६ बर्षको छोरा आशिष जोगी, छोरी १३ र १० बर्षका पुजा जोगी र आरती जोगी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।
चट्याङले लागेर बेहोस भएकाहरुको घरमा नै स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको उपस्थितिमा प्राथमिक उपचार पश्चात होस आएको लिखु गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष सोकर्णले जानकारी दिए । प्राथमिक उपचार पश्चात छोराछोरीहरुको अवस्था सामान्य रहेको र आमाको अबस्था पनि सुधारोन्मुख रहेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
चट्याङले लागेर जोगीको घरमा रहेका विद्युतको मिटरबक्स, विद्युतको चिम तथा तारहरु समेत डढेर पूर्ण रूपमा क्षति भएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।