जिल्लाको दुइ स्थानमा मोटरसाइकल दुर्घटना, तीन घाइते
ओखलढुङ्गान्युज, २१ बैशाख । शुक्रबार जिल्लाका छुट्टाछुट्टै दुई स्थानमा मोटरसाइकल दुर्घटना तीन जना घाइते भएका छन् । जिल्लाको मोलुङ गाउँपालिका ३ को झगरपुर र सिद्धिचरण नगरपालिका वडा नं. ५ सानीटारमा मोटरसाइकल दुर्घटना भएको हो ।
शुक्रबार दिउँसो करीब ३ बजे मोलुङ गाउँपालिका १ कुन्तादेवीबाट रामपुर तर्फ जादै गरेको बा ९५ प ३३३३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । उक्त दुर्घटनामा परि मोटरसाइकल चालक कुन्तादेवीका ३० बर्षिया तेज बहादुर ढकाल र मोटरसाइकल पछाडी बस्ने मोलुङ २, रामपुरकी ५६ बर्षिया ज्ञान कुमारी दाहाल घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।
त्यस्तै शुक्रबार अपरान्ह ५ बजे सिद्धिचरण नगरपालिका वडा नं. ५ सानीटारबाट गैरीगाँउ तर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा सिद्धिचरण नगरपालिका वडा नं. ४ सानीटारकी ५१ बर्षिया प्रेम कुमारी दाहाल घाइते भएकी छ । सानिटारबाट गैरीगाउँतर्फ जादैं गरेको बा.प्र. ०२-०२७ प ४१३१ नम्बरको मोटरसाईकलले दाहाललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी सिंहले जानकारी दिए ।
झगरपुर दुर्घटनामा परेका दुवैजनालाई तत्काल उद्दार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गामा ल्याइएको प्रहरीले जनाएको छ । दुवैजनाको अहले सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गामा उपचार भैरहेको प्रहरीले जनाएको छ । त्यस्तै सानीटारमा भएको दुर्घटनाका घाइतेलाई जिल्ला अस्पताल रुम्जाटारमा लगि उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
सानीटारमा महिलालाई ठक्कर दिने मोटरसाइकल चालक चिशंखुगढी गाउँपालिका वडा नं. ४ ठुलोढुंगा बस्ने ङाङ्सारा शेर्पाको छोरा अन्दाजी वर्ष २० को आङफुर्वा शेर्पा सकुशल रहि प्रहरीको सम्पर्कमा रहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।