नेपाली समय Loading...२०८२ बैशाख ६ शनिबार

आगलागी गराउनेको सूचना दिनेलाई लिखुमा ५० हजार दिईने

फायल तस्विर

ओखलढुङ्गान्युज, २१ बैशाख अहिले देशव्यापी रुपमा आगलागीको घटनामा बृद्धि भैरहेको छ । आगलागीको घटनाबाट ओखलढुङ्गा जिल्ला पनि अछुतो छैन । जिल्लाका झण्डै एक दर्जन स्थानहरुमा अहिले पनि आगलागी भैरहेको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार गत बैशाख ११ गते देखी चम्पादेवी गाउँपालिकाको वडा नं. ६ र ७ को सिमानाको जंगलमा लागि रहेको आगो अझैपनि नियन्त्रणमा आउन नसकको जनाएको छ । बैशाख १९ गते बुधबार साँझदेखि सुनकोशी गाउँपालिका वडा नं. ८ भालदिप स्थित सल्लाघारी सामुदायीक वन तथा सोहि दिन देखी मोलुङ गाउँपालिका वडा नं. ४ हर्कपुरको निगाली वनमा लागेको आगो शुक्रबारसम्म पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

त्यसैगरि बुधबार साँझबाट लिखु गाउँपालिकाको वडा नं. ६ खाल्टेको खाल्टे सामुदायीक वन, खिजिदेम्वा गाउँपालिका ३ को खिजि सामुदायिक बनमा लागेको आगो पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ६ थाक्लेको दुम्की साम्ुदायीक वनमा विहिबार साँझ देखी आगलागी भैरहेको र ती स्थानहरुमा प्रहरी टोली खटी गई स्थानियबासीहरु संग समन्वय गरी आगो नियन्त्रणमा लिने कार्य भईरहेको पनि ओखलढुङ्गा प्रहरीले जनाएको छ ।

त्यस्तै शुक्रबार विहान करीब साँढे ५ बजेबाट चिशंखुगढी गाउँपालिका वडा नं. ३ धारापानि उत्तिसे सामुदायिक वन तथा विहान साँढे ७ बजेदेखी मोलुङ गाउँपालिका वडा नं. ७ ताल्कोट स्थित तिनचुले सामुदायिक वनमा आगलागी भैरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

आगलागी गराउनेको सूचना दिनेलाई ५० हजार पुरस्कार

जिल्लाका विभिन्न स्थानमा आगलागी भैरहेको अबस्थामा लिखु गाउँपालिकाका अधिकांश सामुदायीक वन पनि आगलागीबाट पूर्णतयाः नष्ट भएका छन् । केहि स्थानमा आगलागी भैरहेको छ । तीनदिन देखी लिखु गाउँपालिकाको वडा नं. ६ खाल्टेको खाल्टे सामुदायीक वनमा भै रहेका आगलागी शुक्रबार सम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागी लापर्वाहीका कारण तथा नियतवस र योजनाबद्ध रुपमा भैरहेको आशंकामा आगलागी गराउने व्यक्तिको खोजी गरेर अपराधीलाई कार्बाही गर्न नागरिकहरुले जोडदार रुपमा माग गरिरहेको छन् । 

आगलागी निरन्तर बढि रहेपछि लिखु गाउँपालिका वडा नं. ६ ले भने आगलागी गर्ने व्यक्तिको बारेमा सूचना दिने ब्यीक्तलाई नगद रु ५० हजार पुरस्कार दिने घोषणा गरेको छ । लिखु गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष टिकाराम क्याप्छाकी मगरले सामाजिक सञ्जाल मार्फत उक्त घोषणा गरेका हुन् । सामाजिक सञ्जाल मार्फत वडा अध्यक्ष क्याप्छाकी मगरले आगलागी गराउने व्यक्तिको बारेमा सूचना दिएर आगो लगाउने ब्यक्ति पक्राउ परेमा सूचना दिने व्यक्तिलाई नगद रु ५० हजार पुरस्कार दिने तथा सूचना दिने व्यक्तिको नाम गोप्य राख्ने बताएका हुन् । वडा अध्यक्ष क्याप्छाकी मगर लिखु गाउँपालिकाका विपत व्यबस्थापन समितिका संयोजक समेत हुन् ।