नेपाली समय Loading...२०८२ असार १७ मंगलवार

एकहप्ता देखि लागेको आगो अझै नियन्त्रणमा आएन, थप स्थानमा आगलागी 

ओखलढुङ्गान्युज, १९ बैशाख । ओखलढुङ्गाको विभिन्न स्थानमा एकहप्ता अगाडी देखी भैरहेको आगलागी अझै पनि नियन्त्रणमा आउन सकेको छैन । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ९ ज्यामिरेको ज्यामिरे सामुदायीक वन र चम्पादेवी गाउँपालिका वडा नं. ६ र ७ को सिमानामा रहेको चनौटे सामुदायीक वनमा लागेको आगो नियन्त्रणमा आउन नसकेको हो ।

गत बैशाख ११ गते देखि चम्पादेवी गाउँपालिका वडा नं. ६ र ७ को सिमानामा रहेको चनौटे सामुदायिक बनमा लागेको आगलागी यथावत रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए । त्यस्तै बैशाख १३ गते देखि सिद्धिचरण नगरपालिका वडा नं. ९ ज्यामिरे स्थित ज्यामिरे सामुदायिक बनमा लागेको आगलागी यथावत रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

उता बैशाख १८ गते देखि खिजिदेम्बा गाउँपालिका वडा नं. ७ देम्वाडाँडा स्थित देम्वा सामुदायिक वनमा लागेको आगो तथा चिशंखुगढी गाउँपालिका वडा नं. ३ आले सामुदायिक वनमा लागेको आगो पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । आगलागी भैरहेको स्थानहरूमा आगो नियन्त्रण गर्न स्थानीय, प्रहरी तथा सशस्त्र प्रहरीको टीम परिचालन भैरहेको तथा ती स्थानहरुमा भैरहेको आगलागीले तत्काल घर बस्ती भेटाउने सम्भावना कम रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

बैशाख १८ गते बेलुकी सिद्धिचरण नगरपालिका वडा नं. ९ ज्यामिरेको खोदम्पा सामुदायिक बनमा लागेको आगो भने नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट स्थानीयले प्रयोग गर्दै आएको १ हजार मिटर पाइप भने जलेको छ । पाइप जल्दा स्थानीय भने पानी पिउनबाट बन्चित भएका छन् । खोदम्पामा भएको आगलागीका कारण स्थानीय नवराज ढकालको ५० भारी पराल, काटेर राखेको २५ भारी दाउरा र गाईबस्तु नरहेको काठको खाँबा र फूसको छाना भएको १ गोठ समेत जली नष्ट हुँदा ६० हजार बराबरको क्षति भएको पनि प्रहरीले जनाएको छ । 

सिद्धिचरण नगरपालिका वडा नं. ९ को आगो हाल मोलुङ १ तर्फ सरेको प्रहरीले जनाएको छ । त्यस्तै बुधबार दिउसो सुनकोशी गाउँपालिकाको च्यानम र मोलुङ गाउँपालिकाको वडा नं ४ हर्कपुरको माथिल्लो भागमा रहेको जंगलमा पनि आगलागी भैरहेको स्थानीले बताएका छन् ।