एमाले ओखलढुङ्गाको अध्यक्षमा तीनजनाको दावी, छलफल सुरु
ओखलढुङ्गान्युज, चैत २४ । नेकपा एमाले ओखलढुङ्गाको १० औं अधिबेशन अध्यक्ष पदका लागि गर्मागर्मी छलफल सुरुवात भएको छ । आगामी चैत २६ र २७ गते ओखलढुङ्गामा हुने १० औं जिल्ला अधिबेशनबाट निर्वाचित हुने अध्यक्ष पदका लागि छलफल सुरु भएको हो ।
अधिबेशन सुरुवात हुनै लाग्दा जिल्ला अध्यक्ष पदको लागि समाजिक सञ्जाल मार्फत तीनजनाको दावी रहेको सार्वजनिक भएको छ । जिल्ला अध्यक्ष पदका लागि बर्तमान उपाध्यक्ष एवम् सविधान सभा सदस्य हर्कबोल राई, जीबी खड्का र महिला नेतृ सरस्वती कार्कीको दावी रहेको एमाले जिल्ला नेताहरुले बताएका छन् ।
जिल्ला अध्यक्ष पदमा तीनजनाको दावी भएपनि जिल्ला अध्यक्ष लगायतका सबै पदमा सर्बसम्मतको प्रयास हुने जिल्ला सचिब कमल प्रसाद न्यौपानेले बताए । सर्बसम्मतको लागि प्रयास हुदै गर्दा सर्बसम्मत रुपमा अध्यक्ष हुनका लागि बर्तमान अध्यक्ष शंकर कटवाल र सचिव कमल न्यौपानेले पनि अध्यक्ष हुन लविङ गर्दै चलखेल सुरुवात गरेको एमाले जिल्ला नेताहरु बताउछन् ।
उता सर्बसम्मत रुपमा सहमती जुटेमा जिल्ला अध्यक्ष आफु बन्ने भन्दै नानीबाबु बुढाथोकी पनि कम्मर कसेर लागेको एमाले जिल्ला नेताहरु बताउँछन् । सर्बसम्मत सहमती हुन नसकेमा भने नानीबाबु बुढाथोकीले दाबी नगर्ने ती जिल्ला नेताको तर्क छ ।
जिल्ला अध्यक्षमा नेताहरुको दाबी सुरुवात भएपछि अलिहे जिल्ला अध्यक्षको लागि उमेद्वारी घोषणा गर्ने बेला नभएको जिल्ला सचिब न्यौपाने बताउछन् । पार्टीको जिल्ला अधिबेशनको खुला सत्र बाँकी नै रहेको र बन्द सत्रमा मात्र उमेद्वारी घोषणाको काम हुने भएकोले पनि केन्द्रिय नेताहरुको उपस्थितीमा नेतृत्व तहमा जिल्लाको नेतृत्वका बारेमा छलफल सुरुवात भएको न्यौपानेले बताए ।
जिल्लाको नेतृत्व चयन सबैसम्मत हुन्छ वा चुनावी प्रकृयाबाट भन्ने विषयमा न्यौपानेले यस विषयमा अहिले आफूले केहि नबोल्ने बताए । सकेसम्म सर्बसम्मत नै नेतृत्व चयन हुने र सर्बसम्मत हुन नसकेमा लोकतान्त्रिक पद्धती अनुसार नै नेतृत्वको चयन हुने सचिब न्यौपानेले बताए । सर्बसम्मत हुने भएमा सचिव न्यौपानेले घुमाउरो भाषामा आफुको समेत दावी रहेको बताए ।
ओखलढुङ्गा एमाले १०औं जिल्ला अधिबेशन उद्घाटनका लागि बरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल आउने कार्यक्रम रहेको छ । जिल्ला अधिबेशन चैत २६ र २७ गते जिल्ला सदरमुकाम ओखलढुङ्गामा हुने कार्यक्रम रहेको छ ।