नेपाली समय Loading...२०८२ बैशाख ७ आईतवार

धनकुटाको औद्योगिक ग्राम पूर्ण रुपमा सञ्चालन गर्ने प्रदेश सरकारको तयारी

ओखलढुङ्गान्युज, चैत १३ धनकुटा जिल्लामा रहेको औद्योगिक ग्रामलाई पूर्ण रुपमा सञ्चालन गर्ने कोशी प्रदेश सरकारले तयारी गरेको छ । औद्योगिक ग्रामको आज अनुगमन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले औद्योगिक ग्रामलाई पूर्ण रुपमा सञ्चालन गर्ने बताएका हुन् ।

अनुगमन गर्दै मुख्यमन्त्री कार्कीले आउँदो ६ महिना भित्र औद्योगिक ग्रामलाई पूर्ण रुपमा सञ्चालन गर्नेगरि १५ दिनभित्र आवश्यक खाका तयार गरि पेश गर्न औद्योगिक ग्रामका अध्यक्षलाई निर्देशन दिए । अवलोकनको क्रममा मुख्यमन्त्री कार्कीले औद्योगिक ग्राममा रहेका उद्योगहरुलाई पूर्ण रुपमा सञ्चालन गर्नेगरि १५ दिनभित्र खाका तयार गरि नल्याएमा कारबाही गर्ने समेत अध्यक्ष तिलक महतोलाई चेतावनी समेत दिए ।

हाल औद्योगिक ग्राम परिसरमा निर्मित भएका नौ वटा भवनमा उद्योगहरु सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख इश्वर थापाले जानकारी दिए । नौवटा उद्योग मध्ये हाल सेनेटरी प्याड उत्पादन गर्ने उद्योग र खाद्यान्न सामाग्री उत्पादन गर्ने उद्योग मात्र सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेका उद्योगहरु मार्फत पनि क्षमता अनुसारका सामाग्रीहरु उत्पादन हुन सकेका छैनन् ।

अनुगमनका क्रममा मुख्यमन्त्री कार्कीले औद्योगिक ग्राममा रहेका उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा आएमा पूर्वि पहाडी क्षेत्रको जनजिवीकामा सहजता हुने बताए । मुख्यमन्त्री कार्कीले भने, ‘यस क्षेत्रमा रहेको कच्चा पद्धार्थमा आधारित उद्योग स्थापना भएपछि मात्र यस क्षेत्र सगै पूर्वि नेपालका बासिन्दाहरु लाभान्वित हुन सक्छन् । त्यसैले पनि यहाँको उद्योग पूर्ण रुपमा सञ्चालनमा आउनु आवश्यक छ ।’

औद्योगिक ग्राम स्थापना भएको ५ बर्ष वितिसक्दा पनि यहाँ उद्योगहरु पूर्ण रुपमान सञ्चालनमा आउन सकेको छैन । करीब ५२ रोपनीको क्षेत्रफलमा फैलिएको औद्योगिक ग्राम सञ्चालनमा आएपछि पूर्वि पहाडको घरेलु तथा साना उद्योगको प्रबर्धनमा टेवा पुग्न सक्ने प्रदेश सरकारको विश्वास छ ।