लिखु अध्यक्ष कप भलिबलः पुरुषमा लिखु ए र चम्पादेवी फाईनलमा प्रबेश
ओखलढुङ्गान्युज, चैत २ । लिखु गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत तेश्रो दिनका खेल सम्पन्न भएका छन् । तेश्रो दिनको खेल सकिदा पुरुष तर्फ आयोजक लिखु गाउँपालिका टिम ए र चम्पादेवी गाउँपालिका फाइनल प्रबेश गरेको छ ।
लिखु ए ले चिशंखुगढी गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो । त्यस्तै चम्पादेवी गाउँपालिकाले पनि सेमिफाईनलमा लिखु तामाकोशी गाउँपालिका रामेछापलाई ३–० कै सोझो सेटमा पराजित गरेर फाईनलमा लिखु गाउँपालिका टीम ए सँगको भेट पक्का गरेको हो ।
प्रतियोगिता अन्तर्गत आज सम्पन्न भएको क्वाटर फाईनलको खेलमा लिखु गाउँपालिका ए ले लिखु गाउँपालिका टीम सी लाई, चिशंखुगढी गाउँपालिकाले खिजिदेम्बा गाउँपालिकालाई, चम्पादेवी गाउँपालिको लिखु गाउँपालिका टीम डी लाई र लिखु तामाकोशी गाउँपालिकाले लिखु गाउँपालिका टीम बी लाई पराजित गर्दै सेमीफाईनलको यात्रा तय गरेको थियो ।
पुरुष तर्फको फाईनल खेल अन्तर्गत तेश्रो स्थानका लागि हुने खेल भोली शनिबार ९ बजेबाट र प्रथम स्थानका लागि हुने खेल दिउसो १ बजेबाट हुने आयोजकले जनाएको छ ।
त्यस्तै महिला तर्फको आजै सम्पन्न भएको पहिलो सेमिफाईनल खेलमा माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बुले लिखु तामाकोशी गाउँपालिका रामेछापलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाईनलको यात्रा तय गरेको छ । दोश्रो सेमिफाईनल खेल भने आमचोक गाउँपालिका भोजपुरले मानेभञ्ज्याङ्ग गाउँपालिका ओखलढुङ्गालाई २–० सेटको जित लिएसँगै तेश्रो सेट खेल खेल्ने क्रममा लाईट प्रोटेसका कारण खेल स्थकित भएको छ ।
अब महिला तर्फको दोश्रो सेमिफाईनल खेल शनिबार विहान ७ बजे बाट र फाईनल खेल भने दिउँसो १२ बजेबाट हुने अध्यक्ष कप भलिवल प्रतियोगिता आयोजक समितिका सदस्य सचिब पोकल मगरले जानकारी दिए ।