नेपाली समय Loading...२०८१ चैत्र २६ मंगलवार

चारदिन देखी मोलीको सामुदायीक वनमा लागेको आगो अझै नियन्त्रण बाहिर

ओखलढुङ्गान्युज, फागुन १० जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. १ मोलीमा रहेको बासलबोट सामुदायीक वनमा भिषण आगलागी भएको छ । गत शोमबार अपरान्ह देखी सामुदायीक वनमा सुरु भएको आगलागी चारदिन भैसक्दा पनि नियन्त्रणमा आउन नसकेको हो ।

भिषण आगलागीका कारण बासलबोट सामुदायीक वनको सयौं हेक्टर जमिनमा भएको दाउरा, घाँस तथा साना विरुवाहरु जलेर नष्ट भएका छन् । गत शोमबार देखी मानेभञ्ज्याङ्ग गाउँपालिकाको वडा नं. १ मोली र सिद्धिचरण नगरपालिका वडा नं. २ ठूलाछापको सिमाना वानियाछापको सिरानबाट आगलागी सुरुभएको मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष राजकुमार रुम्दालीले जानकारी दिए ।

निरन्तर दुई दिन सामुदायीक वनमा आगलागी हुदै वस्तीमा आगो पस्नलागेपछि जिल्ला प्रहरी कार्यालयको प्रहरी टिम र स्थानीयवासीको सहयोगमा बुधबार दिउँसो नियन्त्रणमा लिइएको थियो । तर बुधबार राती आएको हावाहुरीका कारण जंगलमा बाँकी रहेको आगोको कोईलाबाट आगो सल्किर पुन जंगलमा आगलागी भएको छ । आगो बस्तीमा पस्ने जोखिम भएपछि आगो नियन्त्रणका लागि सिद्धिचरण नगरपालिका वडा नं. २ का माथिल्लो भेगका नागरिकहरु रातभर नसुती आगो नियन्त्रणमा लागिपरेपनि आगो निभाउन नसकिएको स्थानीयले बताएका छन् ।

बुधबार आगोलाई नियन्त्रणमा लिईएको भएपनि आधारातबाट आगो पुन सल्किएर आगलागी सुरुभएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक केसीले जानकारी दिए । आगो पुन फैलिएपछि आगलागी क्षेत्रमा प्रहरीको टोली पुगिसकेको छ । स्थानीय र प्रहरीको संयुक्त प्रयासमा आगलागी नियन्त्रणको लागि प्रयास भैरहेको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिए ।