नेपाली समय Loading...२०८२ असार १८ बुधबार

प्रदेश सरकारलाई आगामी माघ १७ गते प्रहरीको संगठन संरचना हस्तान्तरण हुँदै

ओखलढुङ्गान्युज, माघ १५ कोशी प्रदेशको प्रहरी संगठनको संरचना आगामी माघ १७ गते प्रदेश सरकारलाई हस्तान्तरण हुने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई शोमबार प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँबरले भेट गरि  प्रहरीको संगठन संरचना माघ १७ गते निर्णय गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको जानकारी गराएका हुन् ।

प्रदेशमा प्रहरी संरचनाको समायोजनको बारेमा चर्चा चलिरहेको बेला मुख्यमन्त्री कार्कीलाई प्रहरी प्रधान कार्यालयमा सोमबार प्रहरी महानिरीक्षक कुँबरले भेटेर प्रहरी समायोजनको विषयमा जानकारी गराएका हुन् । भेटघाटका क्रममा मुख्यमन्त्री कार्कीले प्रहरी समायोजनमा भइरहेको बिलम्बका कारणबारे समेत जानकारी लिएका थिए । संविधान प्रदत्त प्रदेशको शान्ति सुरक्षाको अधिकार प्रदेशले प्राप्त गरि संविधान कार्यान्वयन गर्नु सबैको दायित्व भएको मुख्यमन्त्री कार्कीको भनाइ थियो ।

संघीय सरकारले प्रहरी समायोजन, कानुन निर्माणलगायतका प्रक्रिया पूरा गर्न ढिलाई गरेकाले संघीयताको पूर्ण कार्यान्वयन हुन नसकिरहेको अवस्थामा  संघीय सांसद तथा मन्त्रीहरूले नै प्रदेशले काम गर्न नसकेको भन्दै विरोध जनाएको बताए । संविधान निर्माणका लागि संघीय सरकार र सांसदले इमानदारिता पूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नु आवश्यक रहेको बताए ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईलगायत सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरूको काठमाडौंमा सम्पन्न भेलाले पनि तत्काल प्रहरी समायोजनका लागि संघीय सरकारलाई ध्यानाकर्षण गराएका थिए । त्यस्तै यसअघि बागमति प्रदेशको हेटौडामा सम्पन्न सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको भेलाले तत्काल प्रहरी समायोजन लगायतका प्रक्रिया अघि बढाएर संविधान कार्यान्वयनका लागि समन्वय र संघर्ष गर्ने निर्णय गरेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।