नेपाली समय Loading...२०८२ असार १७ मंगलवार

१. ककनी गौरीवन सहकारीका अध्यक्ष एवम् माओवादी जिल्ला सचिव सुनुवार पक्राउ

ओखलढुङ्गान्युज, माघ ११ ककनी गौरीवन सहकारी संस्था लिमिटेड ओखलढुङ्गाका अध्यक्ष विनोद सुनुवार पक्राउ परेका छन् । सहकारीका बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सुनुवारलाई बुधबार पक्राउ गरेको हो ।

ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं. ९ विलन्दु स्थायी घर भएका सहकारी संस्थाका अध्यक्ष सुनुवारलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरी टोलीले बुधबार काठमाण्डौं महानगरपालिका वडा नं. ६ बौद्धबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । सहकारीका बचतकर्ताको बचत रकम ठगीको आरोपमा सहकारीका उपाध्यक्ष मोलुङ गाउँपालिका ४ हर्कपुरका पदम बहादुर खत्रीलाई पनि बुधबार नै मोलुङवाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए । 

ज्याला, मजबुरी गरेर कमाएको पैसालाई ककनी गौरीबन सहकारी संस्थामा राखेको र उक्त बचत रकम झिक्न खोज्दा विभिन्न बहानामा सहरकारीका सञ्चालकले रकम फिर्ता नगरेर आफूहरुलाई ठगी गरेको भन्दै बचतकर्ताहरुले गत मंशिर १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरी पश्चात प्रहरीले उजुरीकर्ताहरुको बचत फिर्ता गर्न सम्बन्धित सञ्चालकहरुलाई प्रहरी कार्यालयमा बोलाई छलफल गराईएको थियो । प्रहरी कार्यालयमा बसेर बचतकर्ताको रकम फिर्ता गर्न एकहप्ताको समय मागेका सहकारीका अध्यक्ष लगायतको टोली त्यसपश्चात भने सम्पर्क विहिन बनेको थियो ।

अनौपचारिक सहमतिका आधारमा तोकिएको समयमा पनि बचतकर्ताको रकम फिर्ता नगरेपछि प्रहरीले उनीहरुको विरुद्धमा पक्राउ पूर्जि जारी गरेको थियो । पक्राउ पूर्जि जारी भएपश्चात ककनी गौरीवन सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष तथा सञ्चालन समितिका पदाधिकारीहरु फरार रहेका थिए । फरार रहेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले विभिन्न माध्यम मार्फत उनीहरुको खोजी गर्ने क्रममा अध्यक्ष सुनुवारलाई काठमाण्डौंबाट र उपाध्यक्ष खत्रीलाई हर्कपुरबाट नै नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । 

पक्राउ परेका दुवैलाई विहिबार जिल्ला अदालतमा पेश गरि म्याद थप गरेर अनुसन्धान प्रक्रिया थालनी गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । सहकारीको ठगी मुद्धामा सहकारीका अन्य सञ्चालक समितिका पदाधिकारीहरुलाई पनि पक्राउ पूर्जि जारी गरेर खोजी कार्य भैरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

पक्राउ परेको सहकारीका अध्यक्ष सुनुवार नेकपा माओवादी केन्द्र ओखलढुङ्गाका जिल्ला सचिव समेत हुन् ।