मोलुङको राष्ट्रपति रनिङशिल्डमा बरुणेश्वर माविको दबदबापूर्ण ह्याट्रिक
ओखलढुङ्गान्युज, पुष २६ । जिल्लाको मोलुङ गाउँपालिकामा बुधबार अन्तर माद्यमिक बिद्यालय स्तरीय तेश्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । बुधबार सम्पन्न भएको खेलमा बरुणेश्वर मावि रामपुरले दबदबा पूर्ण जित निकाल्दै मोलुङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा विजेताको ह्याट्रिक गरेको छ ।
गाउँपालिका भित्र रहेको १० माद्यमिक बिद्यालयहरुले सहभागीता जनाएको प्रतियोगितामा बरुणेश्वर मावि मोलुङ – २, एक्लैले ३८ स्वर्ण, ४ रजत, ३० कास्य पदक सहित कूल ७२ पदक हासिल गर्दै प्रथम भएको छ । बरुणेश्वर माविले मोलुङ गाउँपालिका अन्तर मावि स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता लगातार जितेको यो तेश्रो पटक हो ।
त्यस्तै प्रतियोगितामा १२ स्वर्ण, १ रजत पदक जित्दै कूल १३ पदक सहित जेसे मा.बि. जेसे, मोलुङ -७ दोश्रो भएको छ भने १० स्वर्ण, १४ रजत र ४ कास्य पदक सहित कूल २८ पदकका साथ मोलुङ ७ कै पात्ले मा.बि. तेश्रो बनेको छ । गत पुष २३ देखि सुरुवात भएको प्रतियोगितामा कालिका मावि भालुथुम्का मोलुङ -६ श्रीचौरले ९ स्वर्ण, २ रजत र ३ कास्य सहित कूल १४ पदक जितेको छ ।
त्यसैगरि प्रतियोगितामा जिवन प्रदिप मावि हर्कपुरले २ स्वर्ण, १० रजत र १३ कास्य सहित कूल २५ पदक प्राप्त गरेको छ । गुरुकुल मावि हर्कपुरले २ स्वर्ण, ५ रजत र २ कास्य सहित कूल ९ पदक प्राप्त गरेको छ । उता शिवदुती मावि प्राप्चाले १ स्वर्ण, ३४ रजत र ३ कास्य सहित ३८ पदक, राँगादिप मावि २ रजत, १५ कास्य सहित कूल १७ पदक, सरस्वती मावि कुनामा कुन्तादेवीले २ रजत र ४ कास्य सहित ६ पदक प्राप्त गरेको छ। यसपटकको प्रतियोगितामा सहभागि भएको गणेश मावि ढुस्के भने पदक विहिन बन्न पुग्यो ।
प्रतियोगिताका बिजेताहरुलाई मोलुङ गाउँपालिकाका अध्यक्ष उत्तम राईले शिल्ड, मेडल तथा प्रमाणपत्रका साथै रनिङशिल्डको ट्रफि वितरण गरेका थिए ।