मानेभञ्ज्याङ अध्यक्ष कप फुटबल: खिजीदेम्बा ६-१ ले पराजित
ओखलढुङ्गान्युज, पुष २४ । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका र मोलुङ गाउँपालिका अन्तर प्रदेश स्थानीय तह मानेभञ्ज्याङ अध्यक्ष कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । आज भएको क्वाटरफाइनल खेलमा दुवै पालिका आ-आफ्नो खेलमा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो ।
आज भएको पहिलो खेलमा लालिगुराँस नगरपालिका तेह्रथुमले मोलुङ गाउँपालिका ओखलढुङ्गालाई ४-० गोलले पराजित गरेको हो । लालिगुराँस नगरपालिकाको जितका लागि जर्सी नं. ७ का टीम क्याप्टेन महादेव तामाङ, जर्सी नं. १० का असिम लिम्बू, जर्सी नं. ३० सुजन तामाङ र जर्सी नं. ९ का सलोन गुरुङले १-१ गोल गरे ।
त्यस्तै आज भएको दोश्रो खेलमा माङ्सेबुङ गाउँपालिका इलामसँग ओखलढुङ्गाको खिजिदेम्बा गाँउपालिका ६-१ गोलले पराजित भएको छ । माङसेबुङ गाउँपालिकाका लागि जर्सी नं. ९ का एलोन लिम्बु एक्लैले ४ गोल गरे । त्यस्तै माङ्सेबुङका लागि जर्सी नं. ११ का प्रवीण साम्पाङले १ र जर्सी नं. ५ का जहु राईले १ गोल गरे । खिजिदेम्बा गाँउपालिकाका लागि मिजल सुनुवारले सान्त्वना १ गोल गरे ।
उक्त प्रतियोगितामा एकै प्रतियोगितामा ४ गोल गर्ने एलोन लिम्बू म्यान अफ दी म्याच घोषित भए । म्यान अफ दी म्याच घोषित भएका खेलाडीहरुले जनही नगद रु ५ हजार प्राप्त गरे ।
अब २५ गते १२ बजे पहिलो सेमीफाइनल खेल र २ बजे दोश्रो सेमिफाइनल खेल सञ्चालन हुनेछ । पुष २५ गते पहिलो सेमीफाइनल खेल आयोजक मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गा भर्सेस लालिगुराँस नगरपालिका तेह्रथुम र दोश्रो सेमिफाइनल खेल सिद्धिचरण नगरपालिका ओखलढुङ्गा भर्सेस माङसेबुङ गाउँपालिकाका बिच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद रु ५ लाख सहित २.५ तोला सुन र २ सय तोला चाँदीको मिश्रीत रनिङशिल्ड प्राप्त गर्नेछ । उपविजेताले ३ लाख नगद पाउनेछ भने सेमिफाइनलिष्ट पुग्ने दुई टीमले जनही १-१ लाख नगद पाउनेछन् ।