नेपाली समय Loading...२०८२ बैशाख ७ आईतवार

दुग्धजन्य पदार्थ बंगलादेश निकासीकालागि मुख्यमन्त्री कार्कीको पहल

ओखलढुङ्गान्युज, पुष १९ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश भित्र उत्पादित दुग्धजन्य पदार्थ बंगलादेश निकासीका लागि पहल थालेका छन् । बंगलादेशकालागि नेपाली राजदुत घनश्याम भण्डारीसँग बुधबार फोन संवाद गरी मुख्यमन्त्री कार्कीले यस प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ निकासीकालागि सहजीकरण गरिदिन आग्रह गरेका हुन् । 

नेपालबाट बंगलादेशमा दुग्धजन्य पदार्थको निकासीमा ७८ प्रतिशत भन्सार तोकिएकाले कोशी प्रदेशका दुग्धजन्य पदार्थ उत्पादकले निर्यात गर्न सकेका छैनन् । दुग्धजन्य पदार्थ निकासी नहुँदा प्रदेशमा ‘मिल्कहोली डे’को अवस्था सिर्जना हुनुका साथै यहाँ उत्पादित घ्यू, नौनी कुहिने अवस्थामा पुगेको छ । प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ बिक्री नहुँदा दुध डेरी सञ्चालकहरुले पछिल्लो समय किसानसँग दुध किन्न छोड्नुका साथै किसानलाई एक वर्षदेखि दुधको भूक्तानी दिन सकेका छैनन् ।

विराटनगर दुग्ध वितरण आयोजनाले उत्पादन गरेको दुग्धजन्य पदार्थ बिक्री नहुँदा किसानको २५ करोड रुपैयाँ भुक्तानी गर्न नसकेको आयोजना प्रमुख परमेश्वर चौधरीले गुनासो पोखे । एकातिर किसानले दुध उत्पादन बढाएका छन् भने अर्कोतिर उत्पादित दुग्धजन्य पदार्थ बिक्री नहुँदा किसानहरुलाई गत जेठ महिनादेखि नै दुधको भुक्तानी दिन नसकेको आयोजना प्रमुख चौधरीको गुनासो छ ।

मुख्यमन्त्री कार्कीले बंगलादेशकालागि नेपाली राजदुत भण्डारीलाई दुग्धजन्य पदार्थमा बंगलादेश सरकारले लगाएको चर्को भन्सार घटाउन र दुग्धजन्य पदार्थ निकासीकालागि पहल गरिदिन आग्रह गरेका हुन् । फोन संवादमा राजदुत भण्डारीले बंगलादेशको ‘कमर्शियल कमिटी’मा निर्णय गराएर दुग्धजन्य पदार्थको भन्सार दर घटाउन पहल गर्ने आश्वासन दिएको मुख्यमन्त्री कार्कीले बताएका छन् । मुख्यमन्त्री कार्कीले दुग्धजन्य पदार्थ उत्पादक सहितको टोली बंगलादेश गएर भएपनि दुग्धजन्य पदार्थ निकासी गरेर किसानको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।