लिखुमा शिक्षक तथा महिला स्वास्थ्य स्वयमसेविकाका लागि एकदिने आधारभूत आँखा उपचार तालिम
ओखलढुङ्गान्युज, मंशिर २७ । जिल्लाको लिखु गाउँपालिकामा एकदिन आधारभूत आँखा उपचार तालिम सम्पन्न भएको छ । लिखु गाउँपालिकाका महिला स्वास्थ्य स्वयम्सेविका र विद्यालयका शिक्षकहरुका लागि लक्षित गरि तालिमको आयोजना गरिएको हो ।
तालिममा आँखामा समस्या भैहालेमा कसरी प्राथमिक उपचार गर्ने ? आँखाको कसरी सुरक्षा गर्ने ? भन्ने लगायतका विषयमा जानकारी गराईएको तालिमका प्रशिक्षक नेपाल रेडक्रस सोसाईटी सामुदायीक आँखा केन्द्र प्रमुख टिका राईले जानकारी दिईन् । तालिममा विद्यार्थीहरुको दृष्टि परीक्षण कसरी पहिचान गर्ने ? विद्यार्थीहरुको आँखाका कारण हुने सामान्य र असामान्य अबस्था कसरी छुट्याउने तथा असामान्य भएकालाई कहाँ कसरी रिफर गर्ने भन्ने विषयमा शिक्षकहरुलाई प्रशिक्षण प्रदान गरिएको आँखा केन्द्र प्रमुख राईले जानकारी दिईन् ।
तालिम मंगलबार गाउँपालिकाका नौवटै वडाका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई प्रदान गरिएको थियो भने बुधबार भने विद्यालयका शिक्षकहरुका लागि प्रदान गरिएको थियो । तालिम तिलगंगा आँखा प्रतिष्ठान जिल्ला सामुदायीक आँखा केन्द्र ओखलढुङ्गाको आयोजनामा सम्पन्न भएको हो ।