नेपाली समय Loading...२०८१ चैत्र २६ मंगलवार

वडा स्तरीय भलिबलमा लिखु तामाकोशी ४ रातमाटाको विजयी सुरुवात

ओखलढुङ्गान्युज, मंशिर २१ सिद्धेश्वर महादेव मन्दिर खाल्टेमा सुरु भएको तेश्रो बालाचतुर्दशी महोत्सव स्थलमा आजबाट सुरुवात भएको वडा स्तरीय खुला भलिवल प्रतियोगितामा लिखु तामाकोशी गाउँपालिका वडा नं. ४ रातमाटाले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा लिखु गाउँपालिका वडा नं. ८, ओखलढुङ्गा बी टीमलाई सोझो दुवैसेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

लिखु गाउँपालिका वडा नं. ६ को माटेबेशीमा रहेको सिद्धेश्वर महादेव तेश्रो बालाचतुर्दशी महोत्सब अन्तर्गत आजदेखी मंशिर २४ सम्म हुने खुला वडा स्तरीय भलिबल प्रतियोगितामा ओखलढुङ्गा र रामेछाप जिल्लाका गरि १५ टीमले सहभागीता जनाएका छन् । महोत्सव अन्तर्गत आज लिखु गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्की र वडा नं. ६ का वडा अध्यक्ष टिका बहादुर क्याप्छाकी मगरले भलिबल प्रतियोगिताको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

महोत्सव अन्तर्गत सुरु भएको भलिबल प्रतियोगिताका विजेताले शिल्ड, मेडल र प्रमाणपत्रका साथ नगद रु १ लाख प्राप्त गर्नेछन् । त्यस्तै दोश्रो, तेश्रो र सान्त्वना हुने टीमले पनि क्रमश नगद रु ७५ हजार, ५० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्ने टीमले पनि नगद रु २५ हजारका साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तर्गत विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि शिल्ड तथा मेडलको ब्यबस्था गरिएको आयोजकले जनाएको छ ।

बालाचतुर्दशीका अबसर पारेर सिद्धेश्वर मन्दिरमा विगत तिन बर्षदेखी महोत्सवको आयोजना हुदै आएको छ । महोत्सव अन्तर्गत २४ गतेको कार्यक्रममा नेपाल सरकारका संस्कृति तथा पर्यटनमन्त्री सुदन किराँतीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महोत्सव सञ्चालन हुने २२ र २३ गते नेपालका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुती रहने महोत्सव आयोजक समितिले जनाएको छ ।