मानेभञ्ज्याङ्गमा राष्ट्रपति रनिङशील्ड पुष ४ देखी ६ सम्म हुने
ओखलढुङ्गान्युज, मंशिर २० । शैक्षिक सत्र २०८० अन्तर्गत मानेभञ्ज्याङ्ग गाउँपालिकाले आगामी पुष ४ देखी ६ गते सम्म पालिकाको विद्यालय स्तरीय राष्टपति रनिङ शिल्ड प्रतियोगीता सञ्चालन गर्ने भएको छ । शोमबार एक सूचना प्रकाशीत गर्दै गाउँपालिकाले पुष ४ देखी ६ गते सम्म गाउँपालिका मुकाममा रहेको तल्लो र माथिल्लो खेलमैदानमा प्रतियोगीता हुने जनाएको हो ।

विगतका वर्षहरुमा जिल्लाका सबै गाउँपालिकाहरुले समयमा नै राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन नगर्दा जिल्ला छनौट प्रतियोगीता सञ्चालनमा ढिलाई भएको थियो । जसका कारण जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सिमित पालिकाले मात्र सहभागीता जनाएका थिए । यस वर्ष राष्ट्रपति रनिङशिल्ड प्रतियोगीता सञ्चालनका लागि सूचना जारि गर्ने मानेभञ्ज्याङ गाउँपालिका पहिलो हो ।
समयमा नै पालिकाको विद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगीता सञ्चालन गरी सक्न सबै गाउँपालिकालाई पत्र पठाईसकिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रविण श्रेष्ठले जानकारी दिए । गत वर्ष सबै पालिकाले समयमा नै प्रतियोगीता सञ्चालन नगर्दा जिल्ला स्तरीय प्रतियोगीता सञ्चालनका लागि समस्या तथा प्रदेशमा खेलाडी लैजान समेत समस्या भएकोले माघ मसान्त सम्म पालिकाको विद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगीता सकाईसक्न पत्र पठाईएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
गतवर्ष राष्ट्रपति रनिङशिल्ड प्रतियोगीता जिल्लाका स्थानीय तहमा सञ्चालन ढिलाई हुँदा खेलाडी छनौट गरी प्रदेशमा खेलाडी पठाउन केहि समस्या देखिएको थियो । जसका कारण प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियागीतामा ओखलढुङ्गा जिल्ला केही कास्य पदकमा मात्र चित्त बुझाउन बाध्य भएको थियो । यसपटक भने प्रदेशबाट समेत जिल्लामा स्वर्ण पदक भित्र्याउने लक्ष्य सहित पालिकाहरुलाई पत्राचार गरिएको र जिल्ला खेलकुद विकास समितिको तर्फवाट पनि त्यसै अनुरुप तयारी गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

