युद्धविराम सकिनासाथ गाजामा ईजरायलको भिषण आक्रमण
ओखलढुङ्गान्युज, मंशिर २० । करीब एकहप्ता लामो युद्ध विराम समाप्त हुनासाथ इजरायलले गाजापट्टीमा पुनः भिषण हमला गरेको छ । गाजा क्षेत्रको दक्षिणी भूभागमा स्थल तथा हवाई मार्फत बमबारीलाई तीव्र पारेको हो ।
गाजामा अन्धाधुन्ध बमबारीका कारण दक्षिणी गाजाको मध्य शहर देर अल–बालाहमा दर्जनौं मानिस मारिएको अन्तराष्ट्रिय टेलिभिजन अलजजिराले जनाएको छ । यसअघि उत्तरी गाजामा ध्यान केन्द्रित गरेको इजराइली सेनाले अहिले दक्षिणी भूभागमा घेरा हाल्दै सर्वसाधारणलाई त्यहाँबाट हट्न आग्रह गरेको छ भने आक्रमणलाई तिब्र बनाएको छ ।
इजरायलको आक्रमण जारि रहदा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजापट्टीमा स्थिति लगातार बिग्रिँदै गएको र मानवताको सबैभन्दा अन्धकार युगमा प्रवेश गरेको टिप्पणी गरेको छ । डब्लूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले दक्षिणी गाजाबाट विस्थापित हुने मानिसको संख्या अत्याधिक बढेको बताएका छन् ।
जारि आक्रमणका विच अन्तराष्ट्रिय तवरवाट गाजामा इजरायलले गरेको आक्रमणलाई रोक्न आग्रह गर्दै युद्ध विरामका लागि अनुरोध गरेका छन् । युद्ध विरामको आग्रहलाई इजरायलले अस्विकार गरिरहेको छ । हमासका वरिष्ठ अधिकारीले पनि इजरायलले गाजामा आक्रमण नरोकेसम्म कुनै वार्ता नगर्ने बताएका छन् । इजरायलको आक्रमणका कारण गाजामा अहिलेसम्म १६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।