द्वन्द्वपछि रुसी सेनामा भर्ति भएका ६ नेपालीको मृत्यु
ओखलढुङ्गान्युज, मंशिर १९ । रुस र युक्रेनको द्वन्द्वपछि रुसी सेनामा भर्ति भएका ६ जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालयले शोमबार एक विज्ञप्ती जारी गर्दै रुसी सेनामा भर्ति भएका ६ जना नेपाली युवाहरुको मृत्यु भएको पुष्टि गरेको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ति भै ज्यान गुमाउनेहरुमा दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार रोका, गोरखाका सन्दीप थपलिया, स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का पितम कार्की, कपिलवस्तुको वाणगङ्गा नगरपालिका–१ का रूपक कार्की, पोखराका देवान राई र इलामका गङ्गाराज मोक्तान रहेका छन् ।
ज्यान गुमाएका नेपालीहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारले रुसी सरकारलाई आग्रह गरेको छ । सरकारले नेपालीलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपालीलाई भर्ना गरेको भए तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई आग्रह गरेको छ ।
रुसी सेनामा भर्ना भई अहिले युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली विवेक खत्रीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा कुटनीतिक पहल भइरहेको पनि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।