पेट्रोल प्रयोग गरी बालेको आगलागीमा परी ओखलढुङ्गामा एक महिलाको मृत्यु
ओखलढुङ्गान्युज, कातिक १४ । शोमबार अपरान्ह एकतले घरमा आगलागी हुदा जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिका ७ हर्कपुरमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ७ हर्कपुरका उमेश गौतमका भाउज्यू ३९ बर्षिया कमला दाहाल गौतम रहेकी छन् ।
शोमबार अपरान्ह साँढे ४ बजेतिर मृतक दाहाल गौतमले भान्साको चुल्होमा डिजेल पेट्रोलको प्रयोग गरी आगो बाल्न लागेकी थिईन् । काठको फल्याकको बेरा र जस्ताको छानो भएको एकतले भान्सा घरको चुल्होमा डिजेल पेट्रोलको प्रयोग गरी आगो बाल्ने क्रममा अचानक आगो सल्किएको थियो । आगो सल्किएर कमलाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।
उक्त आगोलाई निभाउने क्रममा उमेश गौतमकी २७ बर्षिया श्रीमती जानुका गौतम घाईते भएकी छन् । घाईते गौतमको अहिले उदयपुर जिल्लाको जनसेवा हेल्थ केयर अस्पताल घुर्मीमा उपचार भैरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । आगलागीबाट भान्सा कोठामा रहेको भाडावर्तन, अन्नपात, काठापात समेत नष्ट हुदा करीब १ लाख बराबरका. क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । मृतकको शबलाई कानुनी प्रकृया पुरा गरी पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाईएको प्रहरीले जनाएको छ ।