पूर्व प्रदेश पर्यटन मन्त्री सँगै छथर गाउँपालिकाका अध्यक्ष लिखु भ्रमणमा
ओखलढुङ्गान्युज, कातिक १३ । कोशी प्रदेशका पूर्व उद्योग, पर्यटन विकास तथा वन मन्त्री लक्ष्मण तिवारी लिखु भ्रमणमा आईपुगेका छन् । अध्ययनसँगै आन्तरिक पर्यटन प्रबर्धनलाई टेवा पु¥याउने उद्देश्यका साथ कोशी प्रदेशका पूर्वमन्त्री तिवारी र तेह«थुम जिल्लाको छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेला लिम्बु सहितको टीम लिखु आईपुगेको हो ।
लिखु भ्रमणमा आएको उक्त टोलीलाई लिखुका नागरिकहरुले आईतबार नर्मदेश्वर महादेव मन्दिरमा स्वागत गरेका छन् । नर्मदेश्वर महादेव मन्दिरको भ्रमणको क्रममा मन्दिरको ईतिहास र सत्यताको बारेमा अतिथिहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य एवम् ओखलढुङ्गाबाट निर्वाचित निवर्तमान प्रतिनिधी सभा सदस्य यज्ञराज सुनुवार, लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापा, लिखु गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष सोकर्ण श्रेष्ठले जानकारी गराएका थिए ।
मन्दिर भ्रमणको क्रममा पूर्वमन्त्री तिवारीले आफु प्रदेशको पर्यटन विकास मन्त्री बन्दा पनि ओखलढुङ्गाको लिखु गाउँपालिकामा रहेको नर्मदेश्वर महादेव मन्दिरको बारेमा जानकारी नभएको बताए । लिखुमा पोकली झरना रहेको बारेमा सामाजिक सञ्जालबाट देखेर लिखु आउदै गर्दा झण्डै ३ सय बर्ष पुरानो नर्मदेश्वर महादेव मन्दिरको भ्रमण तथा अवलोकन गर्ने अवसर प्रदान गरेकोमा अतिथिहरुले ओखलढुङ्गाका पूर्व संघिय सांसद यज्ञराज सुनुवार र लिखु गाउँपालिकाका उपाध्यक्ष अस्म्तिा थापालाई धन्यवाद दिए ।
कोशी प्रदेशको पर्यटन विकासका लागि आफु मन्त्री भएको बेलामा बृहत योजना निर्माण समेत गरेको पूर्वमन्त्री तिवारीले बताए । लिखु गाउँपालिकामा रहेको विभिन्न ऐतिहासिक भौतिक पूर्वाधारहरुको अध्ययन भ्रमणले आगामी दिनमा सम्बन्धित ठाँउहरुमा सुझाब तथा योजना कार्यान्वयनमा सहयोग पुग्ने समेत पूर्वमन्त्री तिवारीको भनाई थियो ।
छथर गाउँपालिकाका अध्यक्ष तिगेला लिम्बुले ओखलढुङ्गाको लिखु लगायतका क्षेत्रको भ्रमणले आफु जिल्लामा फर्किएपछि गाउँपालिकामा पर्यटन विकाससँग सम्बन्धित गर्न सकिने कार्यहरुमा लगानी र विकासमा सहयोग पुग्ने बताए ।
यो भ्रमण राजनितीक भन्दा पनि विशुद्ध पर्यटन प्रबर्धनको अध्ययनका लागि रहेको ओखलढुङ्गाका पूर्व संघिय सांसद एवम् एमालेका केन्द्रिय सदस्य सुनुवारले बताए । यो टोलीले लिखु गाउँपालिकासँगै खिजिदेम्बा, मोलुङ गाउँपालिका तथा सिद्धिचरण नगरपालिकामा रहेका विभिन्न ऐतिहासिक पर्यटकीय स्थलहरुको अध्ययन, अबलोकन गर्ने सुनुवारको भनाई छ । टोलीले शोमबार नै पोकली छाँगाको अवलोकनका लागि पुग्नेछ ।