कोशी प्रदेशमा संयुक्त सरकारका लागि मुख्यमन्त्री कार्कीको आह्वान
ओखलढुङ्गान्युज, कातिक १३ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा संयुक्त सरकारका लागि आह्वान गरेका छन् ।आइतबार नेपाली कांग्रेस झापाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सर्वदलीय सरकारको आह्वान गरेका हुन् ।
संविधानको सदुपयोग गर्दा पार्टीभित्र विद्रोह गरेको रूपमा नबुझ्न आग्रह गर्दै मुख्यमन्त्री कार्कीले पार्टीका संस्थागत निर्णयहरूको पूर्ण पालना गर्दै पार्टीको नीति, सिद्धान्त र विचार अनुकूल रहेर मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने प्रतिबद्धता समेत जनाए । कार्यक्रममा मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसका सांसदहरूले प्रतिपक्षी भएर पाँचवर्षसम्म संसद्को एक कुनामा बस्नुपर्ने अवस्था आएपछि संविधानको धारा १६८ (५) को अधिकार सदुपयोग गरेर आफू मुख्यमन्त्री बनेको बताए ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापाले कानुन मन्त्रालयको जिम्मेवारी कुशलता पूर्वक सम्हाल्नु भएका कार्कीलाई मुख्यमन्त्रीको रूपमा पाउनु पार्टी र कोशी प्रदेशका जनताकालागि गौरवको विषय भएको बताए । कोशी प्रदेशमा कुनै पनि पार्टीले बहुमत प्राप्त गर्ने स्थिति नहुँदा युद्ध मैदानमा उत्रिएर सकुशल फर्कनु र मुख्यमन्त्री प्राप्त गर्नु पार्टीका लागि गौरवको विषय भएको थापाको भनाई छ ।