आज आश्विन सङ्क्रान्ति, विश्वकर्मा पूजा
ओखलढुङ्गान्युज, असोज १ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन अर्थात आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । आश्विन संक्रान्तिलाई कन्या संक्रान्ति पनि भन्ने प्रचलन रहि आएको छ ।
सञ्चालनमा रहेका विभिन्न कलकारखानामा विश्वकर्मा देवताको बालुवाको मूर्ति वा तस्बिरमा आजको दिन विधिपूर्वक पूजा आराधना गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । आज पूजा गरी मङ्गलबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।
कलकारखानाको अलावा आज उद्योगहरुमा रहेका विभिन्न औजारहरुको समेत पूजा आजा गर्ने परम्परा रहि आएको छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ ।
यही सम्झनामा नेपालका कालीगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन्। यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ। यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ।