आज भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तीज
ओखलढुङ्गान्युज, असोज १ । आज भाद्र शुक्ल तृतीया । आजको दिन हिन्दू धर्मावलम्बीहरुले देवादिदेव महादेवको पूजा आराधना गरी तीज पर्व मनाईदै छ । आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
हिन्दु नारीहरूले भगवान शिवको पूजाआराधना गरी आफ्नो पतिको दिर्घायु, अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल वर र वधु प्राप्तिका लागि पनि व्रत बसेर मनाउँदै छन् । पार्वतीले भगवान शिव पतिका रुपमा पाऊँ भनेर गरेको ब्रतलाई नै हरितालिका तीजका भनिएको हिन्दु धर्ममा उल्लेख गरिएको छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको र ब्रत बस्दा स्वास्थ्यको ख्याल गर्न समेत स्वास्थ्य विज्ञहरुले बताएका छन् ।
तीज पर्वको अबसरमा आज हिन्दूहरुको आराध्यादेव भगवान शिबको मन्दीर पशुपतीनाथ मन्दिरमा विहान तीन बजेदेखीनै चारैवटा ढोका खुला गरिएको छ । श्रद्धालु भक्तजनहरुलाई सहज रुपमा पूजा तथा दर्शन गर्नका लागि व्यबस्थित रुपमा चारओटा लाईनको समेत ब्यबस्था गरिएको छ । पशुपतीनाथ मन्दिर बाहेक देशभरका विभिन्न शिव मन्दिरहरुमा तीर्थालु दर्शनार्थी भक्तजनहरुको भिड लागेको छ भने गाउँगाउँमा तीज पर्वको अबसरमा विभिन्न साँस्कृतिक कार्यक्रमहरुको समेत आयोजना गरिरहेका छन् ।