युवा संघ ओखलढुङ्गाको अध्यक्षमा खत्री निर्वाचित
ओखलढुङ्गान्युज, भदौ ३१ । शनिवार ओखलढुङ्गामा सम्पन्न भएको नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल ओखलढुङ्गाको अध्यक्षमा विनोद खत्री सर्बसम्मत निर्वाचित भएका छन् । शनिवार सम्पन्न भएको युवा संघ ओखलढुङ्गाको सातौ जिल्ला अधिबेशनले खत्रीलाई सर्बसम्मत रुपमा निर्वाचित गरेको हो ।
अधिबेशन अगाडी युवासंघको जिल्ला अध्यक्षका लागि दावी गरेका केही युवाले समेत अधिबेशनको बन्द सत्रमा आवाज ननिकाल्दा खत्री निर्विरोध निर्वाचित भएका हुन् । ओखलढुङ्गामा युवासँघको सातौ जिल्ला अधिबेशन सकिदा अध्यक्षमा एकल दाबी र अन्य युवाले विरोध नगरी सकिएको यो पहिलो अधिबेशन भएको युवा नेता अर्जुन गिरीले बताए ।
सातौ जिल्ला अधिबेशनले खत्रीको अध्यक्षतामा मनोनित गर्ने समेत गरि ५१ सदस्यीय जिल्ला कमिटि निर्वाचित गरेको हो । निर्वाचित हुनेहरुमा उपाध्यक्षमा विवेक तामाङ, सचिव सुमन घिमिरे, सहसचिव देवन राई, सुवास घिमिरे र कोषाध्यक्ष किरण श्रेष्ठ रहेका छन् । त्यस्तै अधिबेशनले युथफोर्सं ओखलढुङ्गाको प्रमुखमा किरण जोशी श्रेष्ठ र साईबर सर्कल प्रमुखमा रविन थापालाई समेत निर्वाचित गरेको छ । अधिबेशनमा जिल्ला अध्यक्ष बाहेकका पदहरुमा केही युवाहरुको दावी भएपनि अन्त्यमा सर्बसम्मत रुपमा जिल्ला कमिटीको टुङ्गो लागेको युवा नेता गिरीले बताए ।
आफु अध्यक्ष पदमा निर्वाचित भएपछि अध्यक्ष पदमा निर्वाचित गराउन साथ सहयोग, पहल गर्ने पार्टीका नेताहरुदेखी युवासंघका सबै सदस्यहरुलाई अध्यक्ष खत्रीले धन्यवाद ज्ञापन गरे । निर्वाचित भएपछि ओखलढुङ्गान्युज डटकमसँग कुरा गर्दै अध्यक्ष खत्रीले ओखलढुङ्गाको युवासँघ एकढिक्का बनाएर जिल्लामा चलायमान बनाउने बताए । विगत केहि समय ओखलढुङ्गामा युवासँघ सुष्त देखिदा पार्टी संगठनमा समेत केहि समस्या देखिएकोे मिसन २०८४ लाई लक्षित गरि आगामी दिनमा कार्यक्रमहरु सञ्चालन गर्ने समेत अध्यक्ष खत्रीले बताए ।
पार्टीको “मिसन नेक्स्ट ईलेक्सन, टार्गेट न्यू जेनेरेसन” भन्ने अभियान सञ्चालन भैरहेको अवस्थामा त्यसलाई ओखलढुङ्गामा पनि कार्यान्वयनमा लाग्ने अध्यक्ष खत्रीको भनाई छ । अधिबेशन लगतै अब पार्टी केन्द्रको निर्णय तथा निर्देशन अनुसार युवाहरुलाई खेलकुद क्षेत्रमा प्रोत्साहन गर्दै पार्टी नेतृत्व विकासमा लगाउने तथा युवाहरुलाई आत्म निर्भर बनाउन एक पालिका १० युवा उद्यमी निर्माण गर्ने कार्यक्रम युवा संघ ओखलढुङ्गाले सञ्चालन गर्ने समेत अध्यक्ष खत्रीले बताए ।