ओखलढुङ्गा : ट्रयाक्टर दुर्घटनामा चालक गम्भिर घाइते
ओखलढुङ्गान्युज, भदौ २९ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा ट्रयाक्टर दुर्घटनामा परि एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको मोलुङ गाउँ पालिका वडा नं. ६ श्रीचौरका बर्ष ३० का जंगबीर तामाङ रहेका छन् ।
मानेभञ्ज्याङ गाउँपालिकाको वडा नं. ६ मा पर्ने सिद्धिचरण राजमार्गको भडारे खोला नजिकै मानेभञ्ज्याङबाट हर्कपुर तर्फ जाँदै गरेको को २ त ४६७७ नम्बरको ट्रयाक्टर आज (शुक्रबार) दिउँसो ११:३० बजे दुर्घटनामा परेको हो । हर्कपुर तर्फ जाँदै गरेको ट्रयाक्टर भडारे खोला नजिकै सडकबाट करीब ५ सय मिटर तल खसेर दुर्घटना हुदा ट्रयाक्टर चालक तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक बलिस्टार सिंहले जानकारी दिए ।
ट्रयाक्टर दुर्घटनामा परि चालक तामाङको टाउकामा चोट लागि गम्भीर घाइते भएका हुन् । दुर्घटनामा परि घाइते भएका तामाङलाई तत्काल उद्धार गरि उपचारका लागि उदयपुरको जनसेवा हेल्थ केयर घुर्मी पठाइएको थियो । घुर्मिमा सामान्य उपचार पश्चात थप उपचारका लागि एम्बुलेन्स मार्फत काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
ओरालो जादै गरेको ट्रयाक्टरको ब्रेक फेल भएर दुर्घटना परेको जानकारी आएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान पनि भै रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।