एमाले उपाध्यक्ष तथा पूर्ब सभामुख सुवास नेम्वाङको निधन
ओखलढुङ्गान्युज, भदौ २६ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व सभामुख सुवास नेम्वाङको गएराति निधन भएको छ । राति १ बजे तिर नेम्वाङलाई हृदयघात भएपछि तुरुन्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । तर अस्पतालमा पुर्याउने वित्तिकै चिकित्सकहरुले नेम्वाङको निधन भएको घोषणा गरेका थिए ।
एमाले उपाध्यक्ष नेम्वाङको निधन भएको खबर पाए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् । त्यस्तै सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अस्पताल पुगेका हुन् । अहिले अस्पतालमा एमाले, माओवादी लगायत पार्टीका शीर्ष नेताहरु पनि पुगेका छन् ।
पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए ।