आलु किन्न गएका लिखुका एक पुरुष मृत फेला
ओखलढुङ्गान्युज, भदौ २५ । जिल्लाको लिखु गाउँपालिकमा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा लिखु गाउँपालिका वडा नं. ६ खाल्टे, मिलनचोकका ६४ बर्षिय कुल बहादुर स्वराली मगर रहेका छन् ।
मृतक मगर आइतबार घरबाट सोहि मिलनचोक स्थित पसलमा आलु किन्न गएका थिए । साँझमा आलुको झोला बोकेर घर गएका मगर शोमबार विहान सम्म घर पुगेनन् । त्यसपछि स्थानीयले मगरको खोजी गरेका थिए । खोजी गर्ने क्रममा मगर घर नजिकैको चिलाउनेको रुखमा झोलाको पासो लागेर मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।
प्रहरी निरीक्षक सिंहका अनुसार आलु बोकेर घर फर्केका मगर घर नजिकै पुगेपछि डिलमुनी लडेका थिए । लड्दा कान्लामा रहेको चिलाउनेको हाँगामा झोलाको एकापट्टीको फित्ता अड्किएको र आलु बोकेको झोलाको अर्का पटिको फिता गलामा पासो लाग्दा मगरको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ ।
मगरको खोजी गर्ने क्रममा शोमबार विहान ६:३० बजे पासो लागेर मृत अवस्थामा फेला परेको भन्दै स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले जानकारी पाउनसाथ घटनास्थलमा प्रहरी चौकि गाम्नाङ्टारबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
घटनाको आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय खिजीफलाटेबाट प्रहरी निरीक्षक सहितको टोली पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । टोली पुगेर आवश्यक कानूनी प्रकृया पुरा गरि शबलाई पोष्ट मार्टमका लागि प्राथमिक स्वास्थ केन्द्र रानीवन पठाइएको प्रहरीले जनाएको छ ।