नेपाली समय Loading...२०८० आश्विन ७ आईतवार

ओखलढुङ्गाको प्रथम प्रगतिशिल साहित्यीक ‘धप पुरस्कार’ तामाङलाई

ओखलढुङ्गान्युज, भदौ २३ ओखलढुङ्गामा स्थापना भएको प्रगतिशिल साहित्यीक प्रथम ‘धप पुरस्कार’बाट ओखलढुङ्गाका साहित्यकार विरेन्द्र ग्यावक तामाङ पुरस्कृत हुने भएका छन् । प्रगतिशील लेखक संघ (प्रलेस) ओखलढुङ्गाले सार्वजनिक गरेको सूचना अनुसार प्राप्त भएको रचना र साहित्यकारहरु मध्येवाट तामाङ छनौटमा परेका हुन् ।

छनौटमा परेका तामाङलाई रुम्जाटारको गुम्बामा आयोजना हुने विशेष कार्यक्रममा पुरस्कृत गरिने प्रगतिशील लेखक संघ ओखलढुङ्गाका अध्यक्ष दुर्गा लिम्बु (सानु कोविद) ले जानकारी दिए । प्रगतिशील साहित्यीक धप पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति भुपाल राईले असोज ६ गते प्रदान गर्ने कार्यक्रम रहेको छ । यो धप पुरस्कार जिल्लाकै पहिलो प्रगतिशील साहित्यिक पुरस्कार  हो ।

प्रलेसले केहिदिन अगाडी विभिन्न सञ्चारमाध्यमहरुमा सूचना प्रकाशन गरि धप प्रतिभा पुरस्कारका लागि दावी सहित निवेदन दिन आग्रह गरेको थियो । सार्वजनिक गरिएको सूचना पश्चात प्राप्त भएका साहित्यकारहरुको निवेदन तथा साहित्यीक लेख रचनाहरु मध्येबाट तामाङलाई छनौट गरिएको अध्यक्ष सानु कोविदको भनाई छ ।

पुरस्कृत हुने साहित्यकार छनौटका लागि सानु कोविदको संयोजकत्वमा तीन सदस्यीय छनौट समिति बनेको थियो । जसका सदस्यहरुमा युवराज दाहाल र सिताराम गुरुङ रहेका थिए । पुरस्कारका लागि छनौटमा परेका तामाङलाई नगद रु १२ हजार १२ सहित प्रमाणपत्रले सम्मान गरिने अध्यक्ष सानु कोविदले जानकारी दिए ।

कार्यक्रमको अबसर पारेर सोहि दिन धप स्रष्टा सम्मान २०८० को अग्रज स्रष्टासम्मान तर्फ प्रगतिबादी बरिष्ठ समालोचक डिआर पोखरेल र अर्का स्रष्टा सर्जक बरिष्ट लोकगायक कल्याण राईलाई दोसल्ला र कदर पत्रका साथ सम्मान गरिने छ । त्यस्तै सोहि दिन विद्यालय स्तरीय कविता बाचन प्रतियोगताको पनि आयोजना गरिएको प्रलेस ओखलढुङ्गाले जनाएको छ ।

के हो  ‘धप प्रतिभा पुरस्कार २०८०’ ?

प्रगतिशील लेखक संघ ओखलढुङ्गाद्वारा वितरण हुने गरि समाजसेवी सिताराम गुरुङले आफ्नो बुबा धनबहादुर र आमा पदमकुमारी गुरुङको नाममा स्थापना गरेको ओखलढुङ्गा जिल्लाकै पहिलो प्रगतिशील साहित्यिक पुरस्कार  हो । गुरुङ जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारका स्थायी बासिन्दा हुन् ।

‘धप प्रतिभा पुरस्कार २०८०’ जिल्ला कै प्रगतिशील साहित्यकार तथा लेखकहरुमध्ये एकजनालाई प्रदान गरिने छ । यो पुरस्कार आफ्नो प्रगतिशील साहित्यिक रचना तथा पुस्तक वा सम्पादन गरेको पुस्तकका लेखक वा सम्पादकलाई प्रदान गरिनेछ ।  धप प्रतिभा पुरस्कार प्रदान गर्नका लागि प्रलेसको जिल्ला समितिबाट दुई जना र पुरस्कारको स्थापनाकर्ताको तर्फबाट एकजना प्रतिनिधी सहित तीन जनाको समिति रहने छ । पुरस्कारका लागि छनौट भएका एकजना प्रगतिशील साहित्यकारलाई नगद रु १२ हजार १२ का साथमा दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरिनेछ ।